सेनाले दियाे सशस्त्र प्रहरीलाई पाँचसय ९० थान हतियार

सुर्खेत । नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माले सशस्त्र प्रहरीलाई हतियार हस्तान्तरण गरेका छन् । जंगी अड्डामा आयोजित कार्यक्रममा प्रधान सेनापति शर्माले सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई विभिन्न प्रकारका हातहतियार हस्तान्तरण गरेका हुन् ।


सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएका हतियारहरुमा ईन्सास राइफल पाँच सय नाल, एलएसडब्लु ९० नाल गरी ५९० थान हतियार र सोको एम्युनिशन तथा सम्बद्ध सामग्रीहरु छन् । सशस्त्र प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु सञ्चालन प्रायोजन गर्न यहीँ चैत २४ मन्त्रिपरिषद्को बैठकले सेनालाई हतियार प्रदान गर्न स्वीकृत दिएको हो ।

सरकारको निर्णय अनुसार नै पहिलो चरणमा हतियार र आवश्यक सामग्रीहरु प्रदान गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सशस्त्र प्रहरीलाई सेनाले ईन्सास राइफल नौ हजार नाल, एलएसडब्लु एक हजार ६ सय गरी कुल १० हजार ६ सय नाल हतियार उपलब्ध गराउने छ ।

बाँकी हतियार तथा एम्युनिशन क्रमशः हस्तान्तरण गरिदै लगिनेछ निर्देशनालयले जनाएको छ । सेनाले प्रदान गरेको हतियारबाट सशस्त्र प्रहरी बलको क्षमता अभिबृद्धि हुने र सुरक्षा निकायहरुबीचको सम्बन्ध थप बलियो हुने विश्वास सेनाको छ ।

तपाईको प्रतिक्रिया