सुब्बाकुनामा राखियाे ट्राफिक सन्देशमुलक डिजिटल बोर्ड

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भित्रिने मुख्य नाका सुब्बाकुनामा ट्राफिक सन्देशमुलकसहितको डिजिटल बोर्ड राखिएको छ । बजार क्षेत्रमा राखिएका ट्राफिक सिंगनल विभिन्न आन्दोलनका क्रममा तोडफोड गरेर क्षती पुर्याएपछि वीरेन्द्रनगर भित्रने मुख्य नाकामा डिजिटल बोर्ड राखिएको हो ।

कर्णाली प्रदेश खेलकुद परिषदको लगानीमा निर्माण गरिएको डिजिटल बोर्ड जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतलाई हस्तान्तरण गरिएको छ । परिषदका सदस्य सचिव विश्वराज सञ्जालले ट्राफिक प्रमुख उपेन्द्रप्रसाद आचार्यलाई हस्तान्तरण गरेका छन् । तीन लाख लागतमा निर्माण गरिएको डिजिटल बोर्डमा सडक दुर्घटना न्यूनिकरणसम्बन्धी सन्देशहरु राखिएको छ ।

‘डिजिटिल बोर्ड राख्नुको मुख्य उदेश्य भनेकै सडक दुर्घटना न्यूनिकरणका लागि सन्देशहरु प्रवाह गर्नु हो,’ ट्राफिक प्रमुख आचार्यले भने, ‘वीरेन्द्रनगर भित्रने मुख्य नाका भएकाले सवारी ईन्ट्री अनिवार्य गर्नु पर्ने भएकाले सवारी चालक र यात्रुहरुले सन्देशहरु पढ्ने भएकाले प्रभावकारी हुनेमा विश्वस्त छौं ।’

सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरीले विभिन्न क्षेत्रहरुमा सचेतनामूलक अभियानहरु सञ्चालन गर्दै आएको आचार्यले जानकारी दिए । ‘सडक दुर्घटना रोक्नमा सबै पक्षको साथ आवश्यक छ,’ आचार्यले भने, ‘डिजिटल बोर्ड आवश्यक परेकाले परिषदलाई सहयोग गरिदिन आग्रह गरेका थियौं ।

परिषदले निर्माणपछि हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्दछु ।’ उनले प्रदेश राजधानी भएकाले सवारी सधानको चाप बढ्दै गएको उल्लेख गरे । ‘सवारी वृद्धिसँगै दुर्घटना जोखिम बढ्छ तर सवारी दुर्घटना न्यूनिकरणका लागि सबैले ट्राफिक नियमको अनिवार्य पालना गर्नु अपिल गर्दछु,’ प्रमुख आचार्यले थपे ।

तपाईको प्रतिक्रिया