नागरिकप्रति बराहतालका जनप्रतिधिको हेपाह प्रवृत्ति

सञ्चालन नहुँदै सिँचाई पोखरीमा भ्वाङ

सर्खेत । देश संघियतामा गएसँगै सिंहदरवार गाउँ–गाउँ पुगे । सिंहदरवारको अधिकार गाउँबाटै प्राप्त हुने भएपछि नागरिकमा एक किसिमको उत्साह देखा परेको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल यहीँ वैशाख ३० गतेबाट सकिदै छ ।

संघीयताको पहिलो अभ्यास भई रहेको बेला जननिर्वाचित प्रतिनिधिहरुले व्यापक आलोचनासहित आफ्नो पाँच वर्षे कार्यकाल सकाउन लागेका छन् । पाँच वर्षको अवधिमा विकास निर्माणका कामले अपेक्षाकृत गति लिन नसकेको नागरिकमा गुनासो ब्याप्त छ । प्रदेश राजधानी वीरेन्द्रनगरसँगै सिमा जोडिएको नजिकको गाउँपालिका हो बराहताल। सिमा जोडिएको भएपनि वीरेन्द्रनगरभन्दा बराहताल गाउँपालिका भौगौलिक हिसावले विकट नै छ ।

सिंहदरवारको अधिकार गाउँबाटै प्राप्त गर्ने उत्साह बोकेका बराहताल–८ कुम्भीकोटका नागरिक भने जनताबाट निर्वाचित जनप्रतिनिधि अर्थात् वडाध्यक्षबाटै निरास बनेका छन् । आर्थिक वर्ष २०७६÷०७७ मा कुम्भीकोट, भुटुके, आलडाँडा लगायतका वस्तीमा करिव एकसय घरधुरीलाई सिंचाई सुविधा उपलब्ध गराउने भन्दै पान चाैर सिंचाइ पाेखरीका नामा वडामार्फत १० लाख वजेट विनियोजन गरिएको हो ।

विनियोजित वजेट मध्ये तीन लाख प्रत्यक्ष जनश्रमदान र बाँकी सात लाख पालिकाले व्यहोर्ने गरी सम्भौता भई काम शुरु पनि गरियो । कोरोनाको पहिलो लहरका कारण आयोजना तोकिएको समयमै सम्पन्न हुन सकेन । तोकिएको समयभन्दा तीन महिना ढिला गरी काम सम्पन्न भयो । तर, काम सम्पन्न भएको तीन आर्थिक वर्ष सकिनै लाग्दासमेत पोखरी पूर्ण रुपमा सञ्चालन नहुँदै भ्वाङ परेको छ ।

कोरोनाका कारण तोकिएको समयमा निर्माण हुन नसकेपछि वर्षातकै समयमा भएपनि हतार हतारमा सिँचाई पोखरीको निर्माण सम्पन्न गरिएको हो । काम सम्पन्न भएकै दिन राती परेको पानीले पोखरीको बाध भत्कियो स्थानीय बताउँछन् ।

बाँध भत्किएको जानकारी वडाध्यक्ष मणीराज कार्कीलाई गराएपछि क्रमागत बजेट हो अर्को पटक मर्मत गरौला भन्ने जवाफ दिएको निर्माण समितिका अध्यक्ष टोपबहादुर वलीले बताए । वलीले भने, ‘हामीले बाँध भत्किएको विषयमा वडाध्यक्षलाई जानकारी गरायौं, उहाँले अर्को पालिको बजेटबाट मर्मत गरौला भन्नुभयो । अर्को साल भन्दा भन्दै उहाँकै कार्यकाल सकिन लागिसक्यो । सिँचाई पोखरी अलपत्र छ ।’

शुरुको चरणमा निर्माण गरिएको पोखरीको समितिले भुक्तानी समेत पाएको छैन् । ७१ पटक गाउँपालिका धाउँदा पनि वडाध्यक्ष कार्कीले गैर जिम्मेवार जवाफसहित भोलि आउँछु पर्सी आउँछु भन्दै टारेको गुनासो अध्यक्ष वलीको छ । वडाध्यक्षको गैरजेम्मवार वोलीका कारण अहिले स्थानीयले रकम उठाएर सिँचाइ पोखरी निर्माण गर्ने योजनामा रहेको उनी बताछन् । बाँधको मर्मतका लागि खरिद गरिएको २५ बोरा सिमेन्ट, ढुङ्गा, बालुवा अहिले काम नलाग्ने अवस्था छन् ।

पालिकाले समयमै भुक्तानी नदिएपछि पोखरी निर्माणमा संलग्न मजदुरहरुलाई सामुदायिक वनको कोषबाट एक लाख चालिस हजार रकम भुक्तानी गरिएको छ । तर सिमेन्ट, ढुङ्गा, बालुवा लगायतका सामग्रीहरुको भुक्तानी दिन बाँकी रहेको अध्यक्ष वलीले नेपालीरैबारलाई जानकारी दिए । पोखरी पुनः निर्माणका लागि आफूले वडाध्यक्षसँग धेरैपटक हारगुहार गरेपनि वडाध्यक्षले आफ्नो मागको कुनै सुनुवाई नगरेको उनको गुनासो छ ।

वडाध्यक्ष कार्कीको घर पोखरी निर्माण हुने स्थानदेखि करिव पाँचसय मिटरको दुरीमा छ । तर, कार्किले पोखरी पुनः निर्माणमा चाँसो नदिदा पोखरी अलपत्र परेको स्थानीयको आरोप छ । यता गाउँपालिका भने स्टिमेट अनुसार काम नभएकाले भुक्तानी दिन नसक्ने बताउँछ ।

बराहताल गाउँपालिकाका सूचना अधिकारी राजीमान बुढाले भने, ‘प्राविधिकले दिएको स्टिमेट अनुसार काम हुनु पथ्र्यो त्यो भएन । पोखरीको जग निर्माण नै स्टिमेटविपरित छ,’ सूचना अधिकारी बुढाले भने, ‘प्राविधिकले भने अनुरुप जगको गहिराई जति हुनुपर्ने थियो त्यो नभएका कारण भत्किएको हो । हामीले पनि नियमविपरितका कामहरुलाई भुक्तानी दिन मिल्दैन ।’ स्टिमेट अनुसार काम भए भुक्तानी हुने सूचना अधिकारी बुढाको भनाई छ ।

तपाईको प्रतिक्रिया