सुर्खेत । दैलेखको आठबिस नगरपालिकाको उप–मेयरको उम्मेदवारमा नेकपा एमालेबाट कल्पना थापाको नाम एक नम्बरमा सिफारिस भएको छ । उप–मेयरमा थापासँगै धेरैले आकङ्क्षा देखाएपछि एमालेले सर्वसम्मतबाट उम्मेदवारको छनौट गर्न नसक्दा मतदान भएको थियो । उक्त मतदानबाट उप–मेयरकी उम्मेदवार कल्पना थापाले धेरै भोट ल्याएर सिफारिस भएकी छिन् ।
यस्तै, उप–मेयरका लागि कल्पनासँगै कमला, थापा, जौधरा आचार्य र नामसरा कार्कीले दाबी गरेका थिए । उम्मेदवारीमा सहमति नजुटेपछि भएको मतदानमा ५२ मत ल्याएर कल्पना थापाको नाम एक नम्बरमा सिफारिस भएको छ । यस्तै, कमला थापाले ३० मत, जौधरा आचार्यले ३३ र नामसरा कार्की ३४ मत मात्रै प्राप्त गरेकी हुन् ।
कल्पनाले एक नम्बरमा नाम सिफारिस भएसँगै विशेष गरी नगरपालिकामा महिलाका लागि विशेष प्रकारका काम गर्ने आफ्ना मुख्य एजेण्डा रहेको बताएकि छिन् । कल्पनाले नागरिकले लामो समयको संघर्षपछि स्थानीय तहमा जनप्रतिनिधि पाएको पहिलो कार्यकाल सकेर अब दोस्रो कार्यकालको लागि हामी चुनावी मैदानमा होमिएको जानकारी दिइन् ।
उनले भनिन्, ‘नगरपालिकामा दिदीबहिनीहरुले साह्रै दुःख पाएका छन् । अझैसम्म चुलो चौको छुटेको छैन् । अब स्थानीय सरकारलाई पनि राज्यले पूर्ण अधिकार दिएको छ । आफ्नो गाउँपालिका र आफ्नो ठाउँको समस्याको बारेमा कानून बनाउँन समेत अधिकार दिएको छ । त्यसैमा रहेर मैले काम गर्ने योजना बनाएकी छु ।’
थापाले थपिन्, ‘उप–मेयरमा जितेपछि गाउँघरमा घेरेलु हिंसामा परेका महिला दिदीबहिनीहरुको न्याय निरुपण अँझै भएको छैनन्, नगरपालिकाको एक नम्बर वडादेखि ९ नम्बर वडासम्मका हरेक घरमा भएका महिला दिदीबहिनीका लागि लक्षित कार्यक्रमहरु आएनका छैनन्, डोको, नाम्लो र चुलो, चौको छुटाउँने खालका योजनाहरु बनेका छैनन् । यि र यस्ता विषयमा उनिहरुको अधिकारहरु पूरा गर्नका लागि मेरो महत्पूण भूमिका रहने छ ।’
यस्ता छन्, प्रतिबद्धताहरू
शिक्षा :- विकासको मेरुदण्ड शिक्षा हो । शिक्षा प्राप्त भए हामीले जहाँ गएर जे सुकै काम गरेर भए पनि आफ्नो भविष्य उज्ज्वल बनाउन सक्छौँ । गुणस्तरीय शिक्षा भए, जहाँ पनि प्रतिस्पर्धा गर्न सक्छौँ । त्यसैले सुलभ र गुणस्तरीय शिक्षा मेरो पहिलो प्राथामिकता हो । त्यसमा पनि महिला वा बालिकालाई विशेष प्राथामिकतामा राखेर शिक्षा नीति बनाउनुपर्छ भन्ने मेरो प्रतिवद्धता छ ।
स्वास्थ्य :- हाम्रा लागि स्वास्थ्य सबैभन्दा महत्वपूर्ण विषय हो । बिरामी पर्दा, सुर्खेत वा त्यो भन्दा टाढा जानुपर्ने बाध्यता हटाउनु छ । त्यसका लागि हाम्रो गाउँमा सुविधा सम्पन्न अस्पताल बनाउनु छ । घर नजिकै पायक पर्ने स्थानमा क्लिनिक बनाउनु छ । सुरक्षि सुत्केरी, गर्भवती सुरक्षा हामी दिदीबहिनीका लागि अर्को महत्वपूर्ण विषय हो । कुनै पनि सुत्केरीले मृत्युवरण गर्नुनपरोस भन्ने हिसाबले सुरक्षित मातृत्व कार्यक्रम लागू गर्नुपर्छ ।
सडक :- विकासको अर्को महत्वपूर्ण विषय सडक हो । शिक्षा, स्वास्थ्य जस्ता सेवा लिन सडक अति आवश्यक छ । गाउँका हरेक टोललाई जोड्ने गरी सडक सञ्जाल बनाउनुपर्छ । तर, त्यस्ता सडकले हाम्रो खेतीपाती गर्ने जग्गा जमिनको सकेसम्म कम क्षति हुनुपर्छ भन्ने हाम्रो सर्त हुनुपर्छ ।
रोजगारी :- हाम्रो अर्को ठूलो चुनौती वेरोजगारी हो । वेरोजगारीका कारण हाम्रो जीवनस्तर उच्च बन्न सकेको छैन। वर्षमा ६ महिना काम गर्दा तीन महिना पुग्ने उब्जाउ गर्न सकिँदैन । जसले गर्दा कालापहाड वा विदेश जानुपर्ने हाम्रो नियती छ । त्यसलाई बदल्न अब हामील रोजगारीबारे विषय काम गर्नुपर्ने हुन्छ ।
हाम्रो गाउँमा हामीले कृषिलाई नै रोजगारी बनाउन सक्नुपर्ने छ । यहाँ पशुपालनबाट महनग्य आम्दानी हुने कार्यक्रम ल्याउनुछ । त्यसका लागि सहज ऋण, पशु सेवा, तालिम जस्ता विषय प्राथामिकतामा राख्नुपर्छ । अब निर्वाहमुखी किसानी होइन, व्यवसायिक किसानी गर्नुछ । यहाँ जे उत्पादन हुन्छ त्यसको उत्पादन बढाएर बजारसम्म पुर्याए हामीले गाउँमै पैसा कमाउन सक्छौँ । जसले हाम्रो जीवनस्तर उकास्ने छ।
अन्घविश्वास :- हाम्रो विकासको बाधक अन्धविश्वास एक समस्या हो । हामी विरामी पर्दा अझै अस्पताल नगएर धामी झाँक्रीमै विश्वास गर्छौ । छाउ गोठमा बस्नुपर्ने हाम्रा दिदिबहिनी, आमाहरुको अर्को समस्या छ । छोरीलाई नपढाउने समस्या पनि छ । यी सबै कुरिती हटाउनु छ । र एक सभ्य समाजको निर्माण गर्नु छ । यी सबैका लागि शिक्षा नै पहिलो सर्त हो। त्यसैले मेरो पहिलो प्राथामिकता शिक्षा रहेको छ ।
निर्णय प्रक्रियामा सहभागिता :- हामीले जनप्रतिनिधि भइसकेपछि जनताको आवाज सुन्नुपर्छ । निर्वाचित भएपछि जनताको कुरा नसुन्ने अच्चम्मको समस्या नेताहरुमा देखिन्छ । त्यसैले हामीले गरेका वाचा पूरा गर्न र आवश्यकताअनुसार कार्यक्रम बनाउन जनताको सुझाव लिइनेछ । सुझावअनुसार स्थानीय आवश्यकता अनुसार कार्यक्रम बनाइनेछ ।
भ्रष्टाचार विरोधी अभियान :- हामी अहिले जुन अवस्थामा छौँ, त्यसको एक कारण भ्रष्टाचार हो । राज्यले दिएको रकम हामीले सदुपयोग नगरी आफ्नो पाकेटमा हाल्ने काम रोक्नुपर्छ । योजनामा हुने भ्रष्टाचार होस् वा कुनै रोजगारीका लागि दिइने घुस त्यो बन्द हुनुपर्छ । घुस र भ्रष्टाचारमा नियन्त्रण गरियो भने हामीले बनाउन चाहेको सभ्य समाज बनाउन कुनै समस्या हुने छैन ।
सामाजिक न्याय :- समाजमा विभिन्न वर्ग छन् । जातजाति छन् । पछाडि पारिएको वर्ग तथा जातजातिलाई मुलधारमा नल्याइ विकास हुँदैन । त्यसैले जातका नाममा होस वा, लिंगका नाममा वा आर्थिक अवस्थाका नाममा । पछाडि परेको समूदायलाई मुलधारमा ल्याउन सामाजिक न्याय दिइनेछ ।
महिलामैत्री कार्यक्रम :- एक महिलाको समस्या महिलाले मात्र बुझेको हुन्छ । बिहान उठेदेखि बेलुका सुत्नेबेलासम्म महिलाले भोग्नुपर्ने समस्या पुरुषको तुलनामा निकै धैरै छन् । छोराछोरीको हेरचाहदेखि डोको बोकेर जंगल जाने र घर फर्केपछि फेरि आराम गर्न नपाइ काममा लादिनुपर्ने अवस्था छ । त्यसैले हामीले काममा पुरुषले पनि महिलालाई सहयोग गरुन भन्ने किसिमले चेतना जगाउनुका साथै महिलालाई अग्रपंक्तिमा ल्याउने कार्यक्रम लागू गर्नुपर्छ ।
दिनेश बुढा । २०७९ बैशाख ३, शनिबार