स्थानीय तह निर्वाचन–२०७९

ठाँटीकाँधमा एमालेलाई उम्मेद्वार छान्नै धाै : श्रीमतीलाई अध्यक्षकाे उम्मेद्वार बनाउने लविङ्गमा प्रदेश अध्यक्ष

सुर्खेत । नेकपा एमाले ठाटीकाँध गाउँ कमिटीले अहिलेसम्म पालिकामा एमालेकातर्फबाट अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवार छान्न सकेको छैन । नेकपा एमाले प्रदेश कमिटीका अध्यक्ष विनोदकुमार शाहले आफ्नी श्रीमती लक्ष्मीदेवि शाहलाई जसरी पनि प्रदेश कमिटिमा सिफारिस गरेर पठाउनु पर्ने भन्दै पालिका कमिटीका सदस्यहरुलाई दबाब दिएकै कारण त्यहाँ पालिकाबाट उम्मेदवार चयनमा अन्यौलता देखिएको हो ।

‘उम्मेदवार छनौट गर्नका लागि भन्दै चैत २९ गतेदेखि नै अध्यक्ष शाहले ठाटीकाँधमा डेरा जमाएका छन् । उनले आफ्नी श्रीमतीलाई अध्यक्षमा सिफारिस गराउनकै लागि भन्दै चुनाव पनि गर्न दिएकै छैनन्,’ पालिका कमिटिका एक सदस्यले नेपालीरैबारलाईसँग भने, ‘उहाँ पूर्व राज्यमन्त्री पनि हो । उहाँ प्रदेश कमिटिको अध्यक्ष पनि हो । आफ्नाे शक्ति देखाउँन खाेजिरहेका छन् ।’

१० जिल्लाका पालिकामा उम्मद्वार छनाेट गर्ने जिम्मेवारीमा रहेका शाह ठाँटीकाँधमै बसेर श्रीमतीकाे पक्षमा मतदान गर्न र जसरी पनि सिफारिस गराउन मतदातालाई दबाब दिइरहेकाे असन्तुष्ट एमाले नेता बताउँछन । ‘शाहकै दबाबका कारण एमालेले पालिका कमिटिले कुनैपनि निर्णय गर्न सकेको छैन,’ एक सदस्य भन्छन्, ‘प्रदेशका अधिकांश पालिकाबाट उम्मेदवार सिफारिस भएर प्रदेश कमिटिमा आइसकेको अवस्थामा उहाँले आफ्नै पालिकामा रमिता देखाउनु भएको छ ।’

एमाले ठाटीकाँध अध्यक्षका दावेदार एक उम्मेदवारले भने अनुसार अध्यक्ष शाहकी श्रीमतीले चुनाव हार्ने त्रासका कारण उनी त्यहाँ बस्दै आएका हुन । ‘चुनाव गरौं भन्दा पनि उहाँ मान्नु हुन्न । महिला अनिवार्य पठाउनुपर्ने सर्कुलर रहेको बताउँदै जसरी पनि आफ्नो श्रीमतीलाई सिफारिस गर्ने र प्रदेश कमिटिमा आइसकेपछि आफ्नो शक्तिको प्रयोग गरेर श्रीमतीलाई अध्यक्ष बनाउने योजना अनुसार अघि बढनु भएको छ,’ उनले भने ।

५६ सदस्यीय कमिटिमा ४० जना विपक्षमा भएपनि उहाँले कसैका कुरा सुन्न चाहनु भएको छैन् भने अध्यक्ष कुमारविक्रम शाही निरीह देखिएकाे स्राेत बताउँछ । ‘अहिले पुरानो बैठकको मितिमा सबै उम्मेदवारलाई सिफारिस गर्ने भन्ने निर्णय भएको भन्दै प्रचार गरिएको छ । त्यो कुरा हामी स्वीकार्न सक्दैनौं,’ असन्तुष्ट एमालेका एक नेताले भने ।

ठाटीकाँध एमालेमा अध्यक्ष पदका लागि अम्मरबहादुर शाही, योगेन्द्र विक्रमराज थापा, धीरबहादुर शाही, कुमारविक्रम शाही, लक्ष्मी शाह, बखत भण्डारी, मनोज गौतम, अस्मिता शाही, शक्तिराम बुढा र बमबहादुर शाहीले दाबी गरेका छन् ।

यस्तै, उपाध्यक्षमा जैसरा विक, निर्मला शाही, निर्मला विक, कल्पना कठायत, कर्ण शाही, महेन्द्रबहादुर शाहीले दाबी  गरिरहेका छन् । अहिले ठाँटीकाँधमा कार्यकर्ताहरु आक्रोशित बन्दै गएका छन् । उनीहरुले लोकतन्त्रको एमालेका प्रदेश अध्यक्षले धज्जी उडाएको बताउँदै पार्टीमा लोकतान्त्रिक व्यवस्था कायम गर्नुपर्ने माग गर्दै आइरहेका छन् ।

यता, अध्यक्ष शाहले श्रीमतीलाई अध्यक्षमा सिफारिस गर्न ठाटीकाँधमा नबसेको बताए । ‘आरोप निराधार हो । शतप्रतिशत गलत कुरा हो । मैले मेरो पालिका भएका कारण म यहाँ आएको हो । मैले सर्वसम्मत उम्मेदवार चयन गर भनेको हो,’ अध्यक्ष शाहले भने, ‘चामुण्डा विन्द्रासैनीकै जस्तो गर्न भनिरहेकाे छु ।’

तीन जनाको नाम पठाइदेउ भन्दा नमानेकाे र त्यसो गर्दा पनि हुँदैन भने जति नाम छन् ति सबैको नाम पठाइदेन भनेकाे शाहकाे दावी छ । ‘पार्टी कमिटिले विवेकपूर्ण रुपमा सोच्ला । पार्टीको पक्षमा परिणाम आउने गरि निर्णय हुन्छ भनेर भनेको हो । मलाई मेरो श्रीमतीसँग जोडनु भनको विचारको दिवालियापन बाहेक केहि होइन,’ उनले भने । चुनाव हारियो भने आफ्नो नाम जोडिने बताउँदै २०४० सालदेखि चुनाव जिताइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया