कर्णाली प्रदेशका चार सय मतदान केन्द्र संवेदनशील

सुर्खेत। कर्णालीमा चार सय चार वटा मतदान केन्द्रलाई संवेदनशील वर्गमा राखिएको छ । अति संवेदनशील मतदान स्थल दुई सय ९४ वटा छन् । अन्य दुई सय आठ वटालाई सामान्यको सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको संवेदनशीलतालाई वर्गीकरण गरेकाे हो छ । वर्गीकरणअनुसार मधेस प्रदेशमा सबैभन्दा धेरै ‘अति संवेदनशील’ मतदान केन्द्र छन् । मधेस प्रदेशमा एक हजार ६५ वटा मतदान केन्द्रलाई अति संवेदनशील वर्गीकरण गरिएको छ । मधेसमा संवेदनशील मतदान केन्द्र आड सय ८९ र सामान्य मतदान केन्द्र दुई सय नौ वटा छन् ।

सीके राउत नेतृत्वको जनमत पार्टीको उच्छृङ्खल गतिविधि र खुला सिमानाबाट हतियार ओसार–पसार हुँदा आउने सुरक्षा चुनौतीका कारण मधेसका धेरै मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए । प्रदेश–१ मा तीन सय २१ वटा मतदान स्थल अति संवेदनशीलको सूचीमा छन् । प्रदेश–१ मा आठ सय ४८ वटा मतदान स्थललाई संवेदनशील र सात सय नौ वटालाई सामान्य वर्गीकरण गरिएको छ । वाग्मती प्रदेशमा तीन सय १० मतदान स्थल अति संवेदनशील सूचीमा छन् ।

वाग्मतीमा ६ सय ७१ वटा संवेदनशील र आठ सय ११ वटा मतदान स्थललाई सामान्यको सूचीमा राखिएको छ । गण्डकी प्रदेशमा अति संवेदनशील मतदान स्थल सबैभन्दा थोरै छन् । गण्डकीमा अति संवेदनशीलको सूचीमा दुई सय ८५ वटा मतदान स्थल छन् । त्यहाँ पाँच सय ४६ वटा संवेदनशील, चार सय २२ वटालाई सामान्यमा वर्गीकरण गरिएको छ । लुम्बिनी प्रदेशमा तीन सय ४४ वटा अति संवेदनशील, ६ सय ५५ वटा संवेदनशील र ६ सय ३० वटा सामान्य मतदान केन्द्रको सूचीमा छन् । सुदूरपश्चिम प्रदेशमा तीन सय २७ वटा मतदान स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको छ । सुदूरपश्चिममा चार सय १० वटा संवेदनशील र तीन सय ९८ वटा सामान्य मतदान स्थल छन् ।

तपाईको प्रतिक्रिया