स्थानीय तहको उम्मेद्वारका लागि सिफारिस भएका यी हुन कर्णालीका पत्रकार

सुर्खेत । यहीँ बैशाख ३० गते गर्न लागिएको स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि उम्मेद्वारका लागि सिफारिस भएका छन् । पछिल्लो विवरणअनुसार कर्णालीका पाँच जिल्लाका ६ जना पत्रकारहरु स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारका लागि सिफारिस भएका हुन् ।

दैलेखको गुराँस गाउँपालिका ८ नम्बर वडा अध्यक्ष पदका लागि नेकपा एमालेबाट पत्रकार दीपेन्द्र वली सिफारिस भएका छन् । उनी यसअघि सुर्खेतबाट प्रशारण हुने रेडियो जागरण एफएमका स्टेशन म्यानेजर हुन् भने प्रेस चौतारी नेपाल सुर्खेतका पूर्व उपाध्यक्ष हुन् ।

ओली कर्णाली प्रदेशका पूर्व प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीको प्रेस सल्लाहकारको भूमिका समेत निर्वाह गरेका थिए । वलीले अहिले पनि खबर बजार नामक अनलाइन सञ्चालन गरिरहेका छन् । उनी एमाले गुराँस गाउँ कमिटीका सचिव समेत हुन् ।

यस्तै, सुर्खेतको सिम्ता गाउँपालिका अध्यक्ष पदको उम्मेद्वारका लागि पत्रकार गणेशकञ्चन भारतीलाई सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्र सिम्ता कमिटीले भारतीलाई पालिका अध्यक्षका लागि सिफारिस गरेको हो । उनी नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्व अध्यक्ष र हाल महासंघ कर्णाली कार्यसमितिका कोषाध्यक्ष हुन ।

यता, जाजरकोटमा स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्न पत्रकारद्वय जनक केसी र विरबहादुर गिरीलाई सिफारिस गरिएको छ । केसी भेरी नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेस र गिरी जाजरकोटकै बारेकोट गाउँपालिका अध्यक्षका लागि एमालेबाट उम्मेद्वारका लागि सिफारिस भएका हुन् । केसी प्रेस युनियन र नेपाल पत्रकार महासंघ जाजरकोटका पूर्व अध्यक्ष हुन् । गिरी भने प्रेस चौतारी नेपालका पूर्व कर्णाली ईन्चार्ज हुन् ।

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेल पनि पालिकाको उम्मेद्वारीका लागि सिफारिस भएका छन् । उनलाई शारदा नगरपालिकाको मेयर पदका लागि नेपाली काँग्रेसले सिफारिस गरेको हो ।
नेपाल पत्रकार महासंघ कर्णाली अध्यक्ष देविराम देवकोटा कालिकोटको सान्नीत्रिवेणि गाउँपालिकाको अध्यक्ष पदको उम्मेद्वारका लागि सिरफारिस भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि सिफारिस भएका हुन् ।

पार्टीले पालिकाको अध्यक्षको उम्मेद्वार बन्न सिफारिस गरेपछि देवकोटाले सामाजिक सञ्जाल फेसकबुकमा स्टाटस राखेर भनेका छन्, ‘पालिका अध्यक्षको उम्मेद्वार बन्नु पर्ने भएकाले पत्रकार महासंघको विधान तथा आचारसिंहताअनुसार महासंघको कर्णाली प्रदेश अध्यक्ष पदबाट राजिनामा दिने निर्णयमा पुगेको छु ।’

तपाईको प्रतिक्रिया