मेयर पदका उम्मेद्वार उपमेयर माेहनमाया ढकालका पाँच वर्ष

२०७४ सालमा पहिलो पटक निर्वाचित भएर उपमेयरको रुपमा पदबहाल गरेपछि चुनौतीका चाङहरु धेरै थिए । तर ति सबैलाईलाई क्रमश पार लगाउनै थियो । त्यो साहस बोकेरै म उम्मेद्वार भएकी थिंए ।कार्यकालको सुरु देखि नै भौतिक पूर्वाधारलाई विशेष जोड दिएर काम गरेंकी थिए । त्यसो भन्दै गर्दा उपमेयरको मूख्य जिम्मा रहेको न्यायिक समिति, अनुगमन र राजश्व परामर्शको कामलाई पनि कम प्राथमिकतामा राखेको होइन ।

सुरु देखि नै काम सडक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । मेरो कार्यकालमा मंगलगडी–काँक्रेबिहार लगायत पहिले योजनामा परेका सबै सडक कालोपत्रे भए । चक्रपथ विस्तार, हटलाइन सेवा, विद्यालयका भवन निर्माण, सबै वडामा स्वास्थ्य चौकी भवन निर्माण गरियो । महिला तथा बालबालिका लक्षित विशेष सेवा दिनेगरी नगर अस्पताल सञ्चालन, पर्यटकीय क्षेत्र काँक्रेबिहार, बुलबुले पार्क, सहिदचोक क्षेत्रको विकास र पुनर्निर्माणका काम पनि भए । सहरी नापीको सुरुवात, ‘एक घर, दुई बिरुवा, हामी आफैं कुरुवा’ भन्ने नारासहित हरित नगर बनाउने अभियान सुरु भएको छ ।

सामाजिक न्याय, ‘महिला स्वरोजगार वीरेन्द्रनगरका विकास र समृद्धिको मुल आधार’ नारा सहित महिला स्वरोजगार कार्यक्रम सुरु भएको छ । अटो रिक्सा चलाउन व्यवसायमा लागेका ३२ जना महिलालाई नगरपालिकाको १ लाख अनुदान र १ लाख ऋण सहयोग, अन्य सीपमूलक तालिम प्रदान गरिएको छ । सुरक्षा गार्ड जस्ता विभिन्न तालिम दिएर महिलालाई आर्थिक उपाजनमा सहभागी बनाइएको र विभिन्न तालिम दिएर महिला स्वरोजगारीलाई प्राथमिकता दिएर महिलालाई प्रत्यक्ष रोजगारीमा सहभागी बनाइएको छ ।

महिला स्वास्थ्यलाई प्राथमिकता दिंदै प्रत्येक वडाका स्वास्थ्य चौकीबाट निःशुल्क सेनिटरी प्याड वितरण,गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा, निःशुल्क एम्बुलेन्स सेवा, गर्भवती पोषण कार्यक्रम, नगर गौरव योजनाको रुपमा पाठेघर स्क्रिन तथा परीक्षण कार्यक्रम सञ्चालन भएका छन् ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि वैतनिक वकिल मार्फत निःशुल्क कानुनी सेवा सञ्चालन भएको छ । छोरी जन्म बचत कार्यक्रम अन्तर्गत जन्मिएका ३५ दिनभित्र जन्मदर्ता गरी एक हजार रुपियाँ सहित बैंक खाता खोलिदिने कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।

छोरी हुनुमा गर्व गर भन्ने नारासहित बालविवाह,बहविवाह, बालश्रमुक्त नगर जस्ता अभियान सञ्चालन गरिनुका साथै नगरपालिकाले लैङ्गिक तथा सामाजिक समावेशी नीति पास गरेको छ । पहिलो पटक कोरोना संक्रमणको समयमा करिब सात महिना कार्यवाहक नगर प्रमुख भएर काम गरेँ ।

त्यसबेला करिब २५ सय जनालाई क्वारेन्टाइन व्यवस्थापन, २२ हजार परिवारलाई राहत वितरण, कोरोना अस्पताल सञ्चालन, पीसीआर परीक्षणलगायत सबै आवश्यक व्यवस्थापन कुशलतापूर्वक गरें । नगरपालिकामा भएका विकास निर्माण कार्यलाई रोजगारीसँग जोडेर मानवस्रोतलाई प्राथमिकता दिएर रोजगारी सिर्जना गरियो ।

स्थानीय तहमा हुने विवाद समाधान गर्दै सामुदायिक मेलमिलाप कायम गर्न न्यायिक समिति उत्कृष्ट माध्यम बनेको छ । न्यायिक समितिबाट करिब २०० मुद्धा विवाद मेलमिलाप तथा न्यायिक प्रक्रियाबाट समाधान भएका छन् । हिंसा प्रभावित महिलाका लागि सुरक्षित आवासगृह निर्माण कार्य अन्तिम चरणमा पुगेको रत्यसको सञ्चालन कार्यविधि निर्माण गरी सञ्चालनको तयारी गरिएको छ ।

अनुभव विभिन्न कार्यक्रममा सहभागिता र उपप्रमुखको रुपमा अन्तर्राष्ट्रिय अध्ययन भ्रमणका क्रममा दुई पटक चीन,एक पटक श्रीलंका र एक पटक फिलिपिन्स पुग्ने अवसर मिल्यो । काम गर्दा भोग्नुपरेका समस्या र चुनौतीलाई मैले सधैं सिक्ने अवसरको रुपमा लिएको छु ।

तर, चुनौती र समस्याभित्रै अवसर लुकेको हुन्छ भन्ने कुरालाई आत्मसात गर्दै काम गर्दै अघि बढें । कार्यकाल पूरा गर्दै गर्दा मैले गरेका वाचा पूरा गरेको महशुस गरेको छु । म फेरि नगरबासीको आँगनमा पुग्दा सोधिने प्रश्नको जवाफ दिनसक्ने गरी उभिने छु ।

पार्टीको झण्डा, विधान, नीति–कार्यक्रम र पार्टीले बनाएको चुनावी घोषणापत्र अनुरुप सधैँ काम गर्ने प्रयास गरेँ । आफ्नो कार्यकालमा गरेका कामबाट सन्तुष्ट छु । पार्टीले विश्वास गरेर प्रमुखको जिम्मेवारी दिन उम्मेद्वारी बनाएकाे छ, नगरवासीकाे फेरी अमूल्य मत पाएर विजयी भएमा उत्कृष्ट काम गर्नसक्छु भन्ने आत्मविश्वास छ ।

तपाईको प्रतिक्रिया