विदेशबाट २८ सय बढी नेपालीको उद्धार, जुन महिनामा १० हजारलाई ल्याइँदै

सबैभन्दा बढी कुवेतबाट आए

काठमाडौं : कोरोना भाइरस महामारीका कारण विदेशमा अलपत्र परेका करिब २८ सय जना बढी नेपाली स्वदेश फर्किएका छन्। सरकारले केही समययता विदेशमा समस्या भोगेका नेपालीहरूको उद्धार गर्ने क्रम जारी राखेको छ।

विदेशमा रहेका नेपाली उद्धारको संयोजन गरिरहेका परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले बिहीबारसम्म करिब २२ सय नेपालीलाई स्वदेश ल्याइएको जानकारी दिए।

शुक्रबार पनि ६ सयभन्दा बढी नागरिक स्वदेश फर्किएका छन्‌। उनीहरूलाई साउदी अरब, कुवेत, कतार, माल्दिभ्स र युएईबाट ६ सय ४४ जनालाई नेपाल ल्याइएको हो।

हिमालयन एयरलायन्सको चार्टर्ड विमानले बिहान साउदी अरबबाट १५३ र जजिरा एयरको विमानले कुवेतबाट १५० जनालाई लिएर आएको थियो। यस्तै युएईबाट आज १४८, दोहाबाट ४३ जना र माल्दिभ्सबाट १५० नेपाली स्वदेश फर्किएका छन्।

कोरोना भाइरस संक्रमण विश्वभर फैलिरहेका बेला सरकारले विदेशमा अफ्ठ्यारोमा परेको नेपाली नागरिकलाई स्वदेश फर्काउन थालेको हो।

कुवेतबाट धेरैको उद्धार

विभिन्न देशबाट नेपाली नागरिक ल्याउन मन्त्रालयले उडान अनुमति दिएको छ। विशेषगरी श्रम गन्तव्य मुलुकमा रहेका कामदारहरू सरकारको उद्धार प्राथमिकतामा परेका छन्। अहिले ल्याउनैपर्ने नागरिकलाई मात्रै ल्याइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अहिलेसम्म कुवेतबाट सबैभन्दा धेरैको उद्धार भएको छ।

कुवेतबाट आममाफी पाएका महिला कामदारहरू आइरहेका छन्। कुवेतबाट अहिलेसम्म ६ वटा उडान भएका छन्। सरदर एउटा उडानमा १५० जना जतिको उद्धार हुने गरेको छ। यसरी हेर्दा कुवेतबाट ९०० जनाको उद्धार भएको छ।

२४ जनाको शव नेपाल ल्याइयो

वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा ज्यान गुमाएका २४ जना नेपालीको शव बिहीबार स्वदेश ल्याइएको छ। लकडाउनका कारण झण्डै तीन महिनादेखि नियमित उडान नहुँदा शव ल्याउन कठिनाइ भएको थियो।

सबैभन्दा बढी कतारबाट २० जनाको शव ल्याइएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए। एकै दिन २४ जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा आफन्तहरू शोकाकुल अवस्थामा देखिएका थिए।

कोरोनाका कारण विभिन्न देशमा अलपत्र नेपाली ल्याउने जहाजमा ती शव पनि ल्याइएको हो। शवहरू सम्बन्धित परिवारका घरसम्मै पुर्‍याउने व्यवस्था बोर्डले मिलाइएको छ।

युरोप अमेरिकाबाट पनि ल्याइँदै

सरकारले खासगरी श्रम गन्तव्य मुलुक र मलेसियामा रहेको नेपालीलाई उद्धार प्राथमिकतामा राखेको छ। उनीहरूलाई पहिलो चरणमा उद्धार गरिनेछ।

तर यससँगै अन्य मुलुकमा पनि अफ्ठ्यारोमा परेका नागरिक उद्धार गर्ने सरकारको तयारी छ। युरोप र अमेरिकालगायत मुलुकमा समस्यामा परेकालाई हवाई उडानसम्बन्धी योजना बनाएर जुन महिनाभित्रै ल्याइने बताइएको छ।

घिमिरेले भने, ‘अहिले ठ्याक्कै यत्ति नै जनाको उद्धार हुन्छ भन्ने अवस्था त छैन, यसमा विभिन्न विषयले फरक पार्छ, यसमा टिकेटिङदेखि हवाई उडानका कुरा पर्छन्।’

उद्धारमा किन ढिलाइ ?

निरन्तरको दबाबपछि बल्लतल्ल सरकारले प्रवासमा विपत्ति खेपिरहेका आफ्ना नागरिक उद्धारको काम सुरू गरेको छ। तर उद्धारले गति लिन सकिरहेको छैन। यसअघि केही मुलुकमा तय भएका उडानहरू पनि सारिएका थिए।

यसबारे जिज्ञासा राख्दा सहसचिव घिमिरेले भने, ‘यसको २ वटा कारण छ : एउटा विदेशबाट नेपालीलाई उद्धार गरेर ल्याइसकेपछि क्वारेन्टाइन र आइसोलेसनदेखि लिएर अन्य सुविधा व्यवस्थापनको सवाल र अर्को विदेशबाट नागरिक ल्याउँदा कतिपय देशसँग हवाई उडानको तालिका मिलाउनुपर्ने र हवाई टिकट तथा अन्य कुरा मिलाउनुपर्ने नियम।

यसकारण केही ढिलाई र प्राविधिक समस्या भएको हो।’

पहिलो चरणको उद्धार प्राथमिकतामा को पर्छन्‌ ?

–विदेशमा सजायबाट आममाफी पाएका,

–डिटेन्सन सेन्टरमा रहेका,

–नेपाल आउन अनुमति पाइसकेका र जुनसुकै कारणले बहिर्गमन भिसामा रहेका,

–आफन्तको मुत्यु भई काजक्रियाका लागि नेपाल आउनुपर्ने,

–श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका,

–कोभिडबाहेक अन्य कारणबाट गम्भीर स्वास्थ्य अवस्था भएका,

–सुत्केरी तथा गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका,

–सरकारी सेवामा रही अध्ययन वा तालिममा गएका र अध्ययन समाप्त भएका विद्यार्थी,

–पारिवारिक पुनर्मिलनका लागि गएका,

–कम्पनीबाट रोजगारीसहित बिदा सुविधा पाएका,

–अन्तर्राष्ट्रिय संघ–संस्थामा कार्यरत रहेका नेपाल आउनुपर्ने अवस्थाका र पर्यटक तथा व्यापारिक भिसामा गएका ।

तपाईको प्रतिक्रिया