स्थानीय तह निर्वाचन–२०७९

राप्रपाबाट बराहतालको उपाध्यक्षमा शाही सुर्खेतकै कान्छी उम्मेदवार

सुर्खेत । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राप्रपाबाट पालिका अध्यक्षमा गोविन्द पुलामीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपाध्यक्षमा अविता शाहीले उम्मेदवार दर्ता गराएकी हुन् ।२६ वर्षीय शाही  बराहताल गाउँपालिका-८ रानीवनकी  हुन् ।

लामो समयदेखि शिक्षण पेशामा संलग्न पुलामीले पालिका अध्यक्षमा उम्मेदवार दिने घोषणा गरेका हुन् । पुलामी यसअघि नेपाली कांग्रेसमा थिए । पछिल्लो समय जनमत बटुल्दै गएको राप्रपाले सुर्खेतका सबै स्थानीय तहमा उम्मेदवारी घोषणा गरेको छ ।

बराहतालका सात वटा वडामासमेत राप्रपाले उम्मेदवार मनोनयन गरी सकेको छ । अध्यक्ष पदका उम्मेदवार पुलामी लोकप्रिय व्यक्तिका रुपमा परिचित छन् । जनतातीको संख्या धेरै रहेको बराहतालमा आफू जनजाती भएकै कारण पनि चुनाव जित्ने पुलामीले दावी गर्छन ।

राप्रपा भ्रष्टाचारहित स्थानीय सरकार निर्माणको मुख्य एजेण्डा राखेर निर्वाचनमा होमिएको छ । यस्तै उपाध्यक्ष पदकी उम्मेदवार बनेकी शाही सुर्खेतकै कान्छी उपाध्यक्षकी उम्मेदवार हुन् । शिक्षण पेशामा संलग्न शाहीलाई राप्रपाले उपाध्यक्ष बनाउँने निर्णय गरेको हो ।

उपाध्यक्ष शाहीले उम्मेदवारी मनोनयन दर्ता गर्दै भ्रष्टाचाररहित सुशासन यूक्त तथा घरेलु हिन्सा मुक्त बराहताल मुख्य योजना रहेको बताइन । शिक्षा, स्वास्थ्य, सडक, विजुली, सञ्चार जस्ता पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । पालिका आवगमनमा सहजताका लागि भेरी पारीका वस्ती लगायतलाई समेटेर रिङ्ग रोड निर्माण गर्ने उनको लक्ष्य छ ।

बड्डिचौरमै विशेषज्ञ सेवासहितको १५ शैयाको अस्पताल निर्माण, कृषि क्याम्पसको स्तरोन्नती, ग्रामिण वस्तीका सडक कालोपत्रे, घरघरमा खानेपानीको धारा, कृषिमा आत्मनिर्भर बनाउँन विभिन्न तालिम तथा सिंचाईको व्यवस्था, पालिकामैत्री विकास मोडल बनाएर युवा लक्षित स्वरोजगारका कार्यक्रमहरु अगाडि बढाइने शाहीका मुख्य एजेण्डा हुन् ।

प्राविधिक शिक्षामा जोड, पर्यटन पूर्वाधार विकास, महिला, बालबालिका, अपाङ्ग र जेष्ठ नागरिक लक्षित कार्यक्रमको लागु गरिने उनको मुख्य योजना छ ।

तपाईको प्रतिक्रिया