तुवाँलोका कारण सुर्खेत–काठमाडौं हवाई उडान प्रभावित

सुर्खेत । तुवाँलोका कारण चार दिनदेखी सुर्खेत–काठमाडौं हवाई सेवा प्रभावित भएको छ । नीजि वायु सेवा कम्पनी बुद्ध एयरले उडान भर्दै आएको काठमाडौं–सुर्खेत, सुर्खेत–काठमाडौं हवाई सेवा प्रभावितहुँदा यात्रुहरुले सास्ती खेप्नु परेको हो ।


भिएफआर उडान हुने सुर्खेत विमानस्थलमा भिजिविलिटी नपुग्दा बुद्धको हवाई सेवा प्रभावित भएको पुष्टी सुर्खेत विमानस्थलका प्रमुख देवेद्रप्रसाद पाण्डेले नेपालीरैबारलाई जानकारी दिए । ‘तुवाँलोका कारण देशभरी नै हवाई उडान प्रभावित छन्, तर अन्य ठाउँको तुलनामा सुर्खेतमा बढी नै प्रभाव देखिएको छ,’ पाण्डेले भने, ‘बुद्धको उडान हुने विहानको समयमा विमानस्थलको भिजिविलिटी एक किलोमिटर मात्रै हुन्छ, त्यहीँ कारणले अहिले सुर्खेत–काठमाडौं हवाई सेवामा असर पुगेको हो ।’

सुर्खेत विमानस्थलमा विमानहरु ल्याड हुन पाँच किलोमिटर भिजिविलिटी आवश्यक पर्छ । विमानस्थलको उत्तरतर्फ अग्ला पहाड र दक्षिणतर्फ पनि पहाडका कारण ल्याण्ड हुने क्रममा सफा मौसम नदेखिँदा उडान प्रभावित बनेको पाण्डे बताउँछन् ।

विमानस्थलमा आइएफआर उडानको सुविधा नहुँदा १९ र ४२ सिट क्षमताको जहाज उडान र अवतरणमा समस्या भएको पाण्डेले उल्लेख गरे । ‘विमानस्थल विस्तारहुँदा आइएफआर उडानको सुविधा थप्न सकिथ्यो तर विस्तारको काम अन्यौल छ,’ पाण्डे भन्छन्, ‘साविकको रनवेमा आइएफआर उडानको सुविधा हुन्थ्यो भने दुई हजार पाँच सय किलाेमिटर भिजिविलिटीमा पनि ४२ सिटको जहाज ल्याण्ड गर्न सकिन्थ्यो त्यो सुविधा अहिले छैन् ।’

तुवाँलोका कारण सुर्खेत–काठमाडौं सिँधा हवाई सेवा प्रभावित भएपनि नेपाली सेनाको पश्चिम एयरवेशले आकस्मिक उद्दारका कामहरु गर्दै आएको विमानस्थलले जनाएको छ । कर्णालीका हिमाली जिल्लाहरुमा उडान भर्ने जहाजहरु पूर्वी नेपाल लागेपछि हाल दैनिक वुद्ध एयरले सुर्खेत–काठमाडौं, काठमाडौं–सुर्खेत नियमित उडान भर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया