सुर्खेतमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन

सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको छ। पाँचदलीय गठबन्धनबीच केन्द्रमा भएको सहमति अनुसार प्रदेश स्तरीय संयन्त्रले कर्णालीका १० मध्ये आठ जिल्लामा मनोनयनअघिनै पालिकाहरु भागबण्डा टुङ्ग्याएको थियो। सुर्खेत र रुकुममा नमिल्दा अन्य जिल्लाहरु गठबन्धनमा आवद्ध सबै दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका थिए।

 तस्बिरः नगेन्द्र उपाध्याय

सुर्खेतमा भने (शुक्रबार) कांग्रेस र माओवादी केन्द्रबीच पालिका भागबण्डा टुंगिएको थियो। दुई दलबीच भएको सहमति अनुसार कांग्रेसले चौकुने गाउँपालिका अध्यक्ष, बराहताल गाउँपालिका र सिम्ता गाउँपालिकाको उपाध्यक्ष र वीरेन्द्रनगर तथा भेरीगंगा गाउँपालिकाको उपमेयरमा दिएको उम्मेदवारी फिर्ता लिएको छ। माओवादी केन्द्रले वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, पञ्चपुरी र लेकवेशी नगरपालिकाको मेयर र चिंगाड, सिम्ता र बराहताल अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएको छ। यस्तै चौकुनेमा माओवादीले उपाध्यक्षमा दिएको उम्मेदवारी पनि फिर्ता लिएको छ। दुई दलबीच वडामा सहमति हुन सकेन्।

सुर्खेतमा एकीकृत समाजवादी एक्लै चुनावी मैदानमा होमिने भएको छ। माओवादी र समाजवादीले चौकुने गाउँपालिका अध्यक्षमा दावी गर्दा पाँच दलीय गठबन्धनबीच सहमति हुन सकेको थिएन्। २०७४ सालको निर्वाचनमा चौकनेमा एमाले पहिलो भएको थियो भने माओवादी केन्द्र दोस्रो थियो। अन्य पालिकामा माओवादी तेस्रो स्थानमा थियो। गठबन्धन बनेकाले सुर्खेतका नौ वटै पालिकाहरुमा आफूहरु विजयी हुने गठबन्धन दलका नेताहरुको दावी छ।

तपाईको प्रतिक्रिया