सुर्खेतमा समाजवादीलाई छाेडेर काँग्रेस र माओवादीविच गठबन्धन

सुर्खेत । केन्द्रिय गठबन्धनकाे विरासत भने सुर्खेतका राजनीतिक दलहरुले जाेगाउन सकेनन् । सुर्खेतका नाै वटै स्थानीय तहमा गठबन्धनमा आवद्ध दल नेकपा एकृकीत समाजवादीलाई छाडेर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि गठबन्धनकाे विरासत भत्किएकाे हाे ।

लामो सयमदेखि भागबन्डा मिल्न नसेकपछि सुर्खेतमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रबीच पालिकाहरुमा भागबण्डा मिलाएर चुनावी तालमेल गरिएकाे छ । माओवादी र कांग्रेस दलबीच भएको सहमति अनुसार कांग्रेसले चौकुने गाउँपालिका अध्यक्ष, बराहताल गाउँपालिका र सिम्ता गाउँपालिकाको उपाध्यक्ष र वीरेन्द्रनगर तथा भेरीगंगा गाउँपालिकाको उपमेयरमा दिएको उम्मेदवारी फिर्ता लिएको छ ।

माओवादी केन्द्रले वीरेन्द्रनगर, भेरीगंगा, गुर्भाकोट, पञ्चपुरी र लेकवेशी नगरपालिकाको मेयर र चिंगाड, सिम्ता र बराहताल अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता लिएको छ । यस्तै, चौकुनेमा माओवादीले उपाध्यक्षमा दिएको उम्मेदवारी पनि फिर्ता लिएको छ ।

तर, कर्णालीका अन्य जिल्लामा समाजवादीले चुनावी तालमेल गर्ने निर्णय गरे पनि सुर्खेतमा भने एकीकृत समाजवादी एक्लै चुनावी मैदानमा होमिएकाे हाे । सुर्खेत एकीकृत साजवादीले भनेअनुसारको भाग नपाएपछि गठबन्धनबाट पछाडि हटेको हो ।

पाँचदलीय गठबन्धनबीच केन्द्रमा भएको सहमति अनुसार प्रदेश स्तरीय संयन्त्रले कर्णालीका १० जिल्ला मध्ये आठ जिल्लामा मनोनयन अघि नै पालिकाहरु भागबण्डा टुङ्ग्याएको थियो । सुर्खेत र रुकुममा नमिल्दा अन्य जिल्लाहरु गठबन्धनमा आवद्ध सबै दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका थिए ।

तपाईको प्रतिक्रिया