काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले चुनावको वेला इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएको छ । आईस्पानले शनिबार प्रेस विज्ञप्ति जारी गरी सरकारका कारण अर्को सातादेखि इन्टरनेट सेवा बन्द हुने स्थिति आएको चेतावनी दिएको हाे ।
टाटा, एअरटेल र सिफीलाई ब्यान्डविथ खरीद बापतको भुक्तानीका लागि सरकारले विदेशी मुद्रा सिफारिश नगरेकाले बन्द हुने अवस्था आएको विज्ञप्तिमा उल्लेख छ । आईस्पानले भनेको छ, ‘गत ६ महीनादेखि भुक्तानी गर्न नसक्दा आगामी हप्ताबाट देशभर इन्टरनेट बन्द हुने स्थिति आएको छ।’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियतवश भुक्तानी गर्न सिफारिश नगरेको आईस्पानको आरोप छ। ‘सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नियतवश अत्यावश्यक इन्टरनेट सेवा अवरुद्ध गर्नका लागि विदेशी मुद्रा सिफारिश रोकेको जस्तो देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चुनावको समयमा इन्टरनेट बन्द हुन गएमा यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेछ ।’
बेरुजुको विषयलाई लिएर मन्त्रालयले विदेशी मुद्रा सिफारिश रोकेको आईस्पानको भनाइ छ । जसले गर्दा इन्टरनेट सेवा बन्द हुने अवस्था आएको जनाइएको छ । यसको विरोधमा आईस्पानले वैशाख १९ गते हुने राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको कार्यक्रम बहिष्कार गर्ने घोषणा गरेको छ ।
नेपालीरैबार । २०७९ बैशाख १८, आईतवार