स्थानीय तह निर्वाचन–२०७९

सयौँको सहभागितामा एमाले वीरेन्द्रनगरको घरदैलो अभियान

सुर्खेत । बैशाख ३० हुने स्थानीय तहको निर्वाचन नजिकिँएसँगै नेकपा (एमाले)ले वीरेन्द्रनगरमा चुनावी अभियानलाई तिव्रता दिएको छ । नगरका सबैजसो वडामा दैनिक भइरहेका चुनावी कार्यक्रममा नेता कार्यकर्ता र शुभेच्छुकहरुको उत्साहजनक उपस्थिति रहने गरेको हो । बुधवार बिहान एमालेले वीरेन्द्रनगर–१ र ११ वडामा घरदैलो कार्यक्रम गरेको छ ।

यी दुबै वडाको घरदैलोका क्रममा सयौँको संख्यामा सहभागिता रहेको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले बताए । उनका अनुसार यतिबेला जिल्लाका सबै पालिकामा एमालेका चुनावी कार्यक्रम उत्साहजनक रुपमा चलिरहेका छन् ।

चुनावी कार्यक्रममा एमालेका सबै तहका नेताहरु अहिलेले वडामा केन्द्रित भएको उनले बताए । वडा र नगरका उम्मेदवारसहित पार्टीका प्रतिबद्धता लिएर नेताहरु मतदाताको घर–आँगनमा पुग्ने गरेका हुन् । एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इञ्जार्च यामलाल कँडेललगायतका नेताहरु आफैँ टोल–टोल र वडाहरुमा पुगेर उम्मेदवारसँगै कार्यकर्तालाई हौँसाला दिइरहेका छन् ।

एमालेले केही दिन अघि वीरेन्द्रनगरका चार स्थानमा चुनावी कोणसभा सम्पन्न गरेको छ । ती कोणसभाहरुमा हजारौँको उपस्थिति रहेको थियो । ‘हाम्रा चुनावी अभियानहरुले जिल्लाभरका सबै पालिकामा जित सुनिश्चित भएको संकेत गरिसकेका छन्,’ तिमिल्सेना भन्छन्, ‘घरदैलो भनिएका ठाउँमा सयौँको ¥याली र कोणसभा आयोजना गर्दा आमसभाजस्तो उपस्थिति भइरहेको छ ।’

वीरेन्द्रनगरमा २०७४ को स्थानीय तह निर्वाचनमा उपप्रमुखसहित बहुमत वडा जितेको एमाले यसपटक प्रमुख र उपप्रमुखसहित १६ वटै वडामा जित्नेगरी चुनावी रणनीति बनाएर जनतामाँझ गएको एमाले सुर्खेतका कार्यबहाक अध्यक्ष कूलमणि देवकोटा बताउँछन् । उनका अनुसार एमालेले जिल्लाका नौ वटै पालिकामा चुनावी अभियानलाई तिव्रताका साथ अघि बढाएको छ ।

घरदैलो सकिएपछि एमालेले वैशाख २७ गते वीरेन्द्रनगरमा नगरस्तरीय अन्तिम चुनावी सभा आयोजना गर्न लागेको देवकोटाले बताए । स्थानीय मंगलगढीचोकबाट ¥यालीसहित पिपलचौतारामा पुगेर दिउँसो २ बजे जनसभा हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया