तीन जिल्लाका प्रजिअसहित सुरक्षा निकायका प्रमुख कैलालीकाे चिसापानीमा किन ?

निर्वाचन केन्द्रीत साझा धारणा बनाउन बैठक

सुर्खेत । स्थानीय तहको निर्वाचन मिति नजिकीदै गर्दा सुरक्षा निकायका प्रमुखहरुलाई पनि चाजोपाजो मिलाउन भ्याइनभ्याइ छ । निर्वाचन सम्बन्धि साझा धारणा बनाउँन तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुविच सुदूरपश्चिम प्रदेशको कैलालीस्थित चिसापानीमा  अन्तर जिल्ला सुरक्षा समन्वय बैठकको सकिएको हो ।

तस्वीर सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रासद रिजालकाे फेसबुकबाट ।

बैठकमा मुख्यगरी निर्वाचनको समयमा हुन सक्ने सम्भावित घटनाहरुलाई रोक्ने विषयमा छलफल गरिएको छ । मतदानका दिन दलहरुले शक्ति प्रदर्शन गर्न एक ठाउँबाट अर्को स्थानमा युवाहरु परिचालन गरेर कुनै अप्रिय घटनाहरु हुन सक्ने भएकाले ति घटनाहरु रोक्न छलफल गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले नेपालीरैबारलाई जानकारी दिए ।

‘कैलालीको मोहन्याल गाउँपालिका र सुर्खेतको चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिका सीमा जोडिएका पालिका हुन् । ति स्थानका केही ठाउँहरु अलि विकट रहेकाले सम्भावित घटना रोक्न पूर्व तयारी गर्न समन्वयात्मक बैठकको आयोजना गरिएको हो,’ थापाले नेपालीरैबारकर्मीसँग भने, ‘निर्वाचन पूर्व, मतदान र मतगणनाको समयमा हुन सक्ने अवाञ्छित गतिविधिहरुलाई रोक्न दुवै जिल्लाका सुरक्षा निकायहरुविच अधिकत समन्वय गर्ने छलफल गरिएको हो ।’

बैठकको मुख्य उदेश्य नै निर्वाचनको समयमा एक अर्कामा असर गर्ने गतिविधिहरुमा राक्नु रहेको थापाले जनाए । उनले बैठकमा कर्णाली नदीको बहाव बढ्दा हुन सक्ने विपद्का घटनाहरु रोक्न पूर्व तयारी कसरी गर्ने र तटवन्धनको कामको जानकारी लिने काम भएको उल्लेख गरे ।

चिसापानीबाट अलग भएर बग्ने कर्णाली नदीका दुई धारमध्य बर्दियाको राजापुर र कैलालीको टिकापुर क्षेत्रमा तटवन्धन गर्दा समन्वयमार्फत काम गर्ने निर्णय समेत गरिएकाे उनले जनाए । कैलालीका प्रमुख जिल्ला अधिकारी थापाको अध्यक्षतामा बसको बैठकमा कार्य सम्पादन सम्झौता समेत गरिएको छ । मुख्यगरी निर्वाचनको समयमा समन्वय गर्ने, जथाभावी ढुंगा गिट्टीको उत्खनन गर्न नदिने र नदीको बहावलाई एकैतर्फ लैजान बर्दिया र कैलालीविच समन्वयका आधारमा काम गर्ने विषयमा सम्झौता गरिएको छ ।

बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी थापासहित सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोला, बर्दिया राष्ट्रिय निकुञ्जका सुरक्षा प्रमुख, रानी जमरा सिँचाई आयोजनाका प्रमुख, तीनै जिल्लाका नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुका सहभागी थिए ।

तपाईको प्रतिक्रिया