वीरेन्द्रनगरमा कसले मार्ला बाजी ?

सुर्खेत। कर्णालीका ७९ स्थानीय तहमध्ये प्रदेश राजधानी वीरेन्द्रनगरमा सबैको विशेष चासो छ । नेकपा एमाले र नेपाली कांग्रेस र माओवादीसहितको गठबन्धन दल यतिबेला वीरेन्द्रनगरमा बढी नै केन्द्रित देखिन्छन् । अघिल्ला निर्वाचनमा कमै मात्रामा मत प्राप्त भएतापनि राप्रपा भने यसपालीको निर्वाचनमा राम्रो नतिजा ल्याउने आश गरेको छ । राजधानी नगरको हार–जित दलहरूका लागि प्रतिष्ठाको विषय बनेको छ । ‘सबै दलले यस नगरलाई चासोका साथ हेरेको अवस्था छ ।

अघिल्लो निर्वाचनको मत परिणाम अनुसार वीरेन्द्रनगरमा मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस र एमाले रहेका थिए । ६७ हजार मतदाता रहेको वीरेन्द्रनगरमा १६ वटा वडा छन् । अन्य साना पार्टीकोे जनमत पनि राम्रै भएको मानिन्छ । वीरेन्द्रनगरको चुनावी मैदानमा यसपटक नेकपा (एकीकृत समाजवादी) पनि थपिएको छ । वीरेन्द्रनगरमा कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेल गरेका छन् भने अरु दलहरू एक्ला–एक्लै भिड्दैछन् ।

कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुखमा संयुक्त उम्मेदवार उठाएका छन् । प्रतिस्पर्धी दलले नगरमा तेस्रो जनमत भएको पार्टीसँग तालमेल गरेपछि एमालेलाई चुनौती थपिएको छ । यस्तो परिस्थितिमा राप्रपा र एकीकृत समाजवादीले काट्ने भोट निर्णायक बन्न सक्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

दलका चुनावी अभियान र कार्यक्रममा देखिएको उपस्थितिले पनि मतपरिणामबारे आ–आफ्नै जोडघटाउ सुरु भएका छन् । सबै दलहरु आक्रामक रूपमा चुनावी अभियानमा लागेको देखिन्छ । त्यस्तै, निर्वाचनमा पहिलोपटक सहभागी भएको नयाँ दल एकीकृत समाजवादीले आफूलाई नगरमा पहिलोपटक परीक्षण गर्दैछ ।

विगतका निर्वाचन परिणामअनुसार वीरेन्द्रनगरका मतदातास्थिर रहेको देखिन्छ । केही मत तलमाथि भएपनि एमाले र कांग्रेसकै उम्मेदवारले नगरको नेतृत्वमा बाजी मार्ने अवस्था देखिन्छ । गएको स्थानीय निर्वाचनमा वीरेन्द्रनगरको प्रमुखसहित ६ वडा कांग्रेस र उपप्रमुखसहित नौ वडा एमाललेले तथा एउटा वडा माओवादी केन्द्रले जितेको थियो ।

राप्रपाको भने अघिल्लो स्थानीय तह निर्वाचनमा न्यून प्रभाव देखिएको थियो । कांग्रेस र माओवादी केन्द्रले कांग्रेसका नगर कमिटी अध्यक्ष उपेन्द्र खड्कालाई प्रमुख र माओवादी केन्द्रकी शान्ति ढकाललाई उपप्रमुखको साझा उम्मेदवार बनाएका छन् ।

नेकपा एमालेले मोहनमाया ढकाललाई नगर प्रमुख र उपप्रमुखमा निलकण्ठ खनाललाई उम्मेदवार बनाएको छ । ढकाल नेकपा ‐एमाले) कि केन्द्रीय सदस्य र यसअघिकी उपप्रमुख पनि हुन् । खनाल एमाले नगर कमिटी अध्यक्ष तथा गएको निर्वाचनमा वडा नं. ४ का निर्वाचित अध्यक्ष हुन् ।

विगतमा वीरेन्द्रनगरको नगर प्रमुख भइसकेका मुकुन्दश्याम गिरी राप्रपाबाट प्रमुखको उम्मेदवार छन् । सबै दलबाट राजनीति र स्थानीयस्तरमा प्रभाव रहेका व्यक्तिहरू उम्मेदवार बनेकाले पनि वीरेन्द्रनगरको चुनावी परिमाण यसपटक थप रोचक बन्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया