कांग्रेसका बागीले उम्मेदवारी फिर्ता लिँदा सिंहलाई हाइसन्चाे

सुर्खेत । नेपाली कांग्रेबाट भेरीगंगा नगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका मानबहादुर बुढामगरले अन्तत उम्मेदवारी फिर्ता लिएकाे घाेषणा गरेका छन् । कांग्रेस भित्रकै आन्तरिक किचलोका कारण बुढामगरले भेरीगंगाकाे मेयर पदमा बागी उम्मेद्वारी मनाेनयन गराएका थिए । उनकाे उम्मेद्वारीले काँग्रेसका मेयर पदका उम्मेद्वार रामबहादुर सिंहमा निर्वाचन हार्ने त्रास थियाे ।

बुढामगरसहित भेरीगंगाको मेयर पदका लागि सात जनाले उम्मेदवारी दर्ता गराएका थिए । बिहीवार एक विज्ञप्ती जारी गर्दै बुढामगरले उम्मेदवारी फिर्ता लिएका हुन् । बुढामगरसँगै उम्मेदवारी फिर्ता लिनेहरुमा भेरीगंगा नगरपालिका-५ का वडाध्यक्ष पदका उम्मेदवार ढालबहादुर बराल, महिला सदस्य कमला पुनमगर, खुला सदस्य मनबहादुर मगर र टोपबहादुर आले रहेका छन् ।

उम्मेदवारी फिर्ता लिएका पाँचै जनाले आसन्न निर्वाचनमा कांग्रेसलाई सघाउने वचन दिएका छन् । कांग्रेस भेरीगंगाले माओवादीसँग तालमेल गरेर चुनावमा जाने निर्णय गरेपछि बुढामगरले बागी हालेका हुन् । भेरीगंगामा नेपाली कांग्रेसले मेयर पद लिएको छ, भने माओवादीलाई उपमेयर दिईइएको छ । २०७४ को निर्वाचनमा पनि नेपाली कांग्रेसले मेयर र उपमेयर दुवै पद जितेको थियो ।

बुढामगरले बागी उम्मेदवारी दिएपछि कांग्रेस भेरीगंगामा ठुलै हलचल मच्चिएको थियो । संस्थापन पक्षका नेता तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काको क्षेत्र भएकैै कारण पनि बुढामगरको बागी उम्मेदवारीलाई विशेष चाँसोका साथ हेरिएको थियो ।

पार्टीका नेताहरुले बुढामगरकाे उम्मेद्वारी फिर्ता गराउन गरेकाे छलफल ले सार्थकता पाएपछि काँग्रेसका उम्मेद्वारहरुलाई हाइसन्चाे बनाएकाे छ । वागी उम्मेद्वार बुढामगरले काँग्रेसकै मत काट्ने आँकलन गरेकाे एमालेलाई धक्का पुगेकाे काँग्रेस नेताहरु बताउँछन् । ‘ठिक समयमा उहाँले रामबहादुर सिंहलाई समर्थन गर्नुले एमालेकाे चुनाव जित्ने दाउ लगभग समाप्त भएकाे छ भनाैं,’ ति नेताले भने,’उहाँले सही समयमा गरेकाे निर्णयले काँग्रेसजनमा ठूलाे राहत पुगेकाे छ ।’

कांग्रसबाटै बागी परेपछि नेकपा (एमाले) लाई सहज हुने अनुमान गरिएको थियो । भेरीगंगा कांग्रेसको गढ मानिन्छ । तर एमालेकाे पनि जनाधार कमजाेर नरहेकाे बुझाइ काँग्रेसकाे छ । कांग्रेसको आन्तरिक गुटका कारण आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसले ठुलो धक्का व्यहोर्नु पर्ने आंकल गर्न थालिएको छ ।

सुर्खेतका नौ वटै स्थानीय तहमा नेपाली कांग्रेस संस्थापन पक्षका उम्मेदवार चुनावी मैदानमा होमिएका छन् भने, संस्थापन इतर पक्षले कुनै पनि पालिकामा उम्मेदवारी दिएको छैन । सर्खेतमा संस्थापन इतर पक्ष संस्थापन पक्षलाई हराउन खुलेर लागेको संस्थापन पक्षले नै आरोप लगाउदै आएको छ ।

तपाईको प्रतिक्रिया