राष्ट्रिय खेलकुद प्रतियागितामा कर्णालीले २८ खेलमा भाग लिने

सुर्खेत । गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २८ खेलमा भाग लिने भएको छ । आगामी जेष्ठ २२ गतेदेखि २८ गते सम्म संचालन हुने प्रतियोगितामा कर्णालीले विभिन्न २८ खेलमा भाग लिने भएको हो ।

जसका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषदले तयारी गरिरहेको परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए । सदस्य सचिव संज्यालले भने, ‘अहिले कर्णाली प्रदेशमा विभिन्न खेलका खेलाडीहरु छनौटको प्रक्रिया चलिरहेको छ । छनोट भएका खेलाडीहरुलाई भने आगामी जेष्ठ २ गते देखि बन्द प्रशिक्षणमा राखिने तयारी भएको छ ।’

खेलाडीहरुको बन्द प्रशिक्षणको लागी भन्दै कर्णाली प्रदेश सरकारले १ करोडको बजेट व्यवस्थापन गर्ने भएको छ । बजेटका विषयमा बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, सामाजिक विकास मन्त्री यज्ञबहादुर विसी र परिषदका सदस्य सचिव विश्वामित्र संज्यालबीच भएको थियो ।

उक्त प्रतियोगितामा पदक बिजयता खेलाडीहरुलाई कर्णाली प्रदेश सरकारले प्रोत्साहन स्वरुप पुरुस्कृत गर्ने भएको छ । प्रदेश सरकारले पुस्कृत गर्ने विजयी खेलाडीहरुमा स्वर्ण पदक विजयतालाई दुई लाख, रजत पदक विजयतालाई एक लाख ५० हजार र कास्य पदक विजयतालाई एक लाख प्रदेश प्रोत्साहन पुरस्कार दिने भएको हो ।

१०औं राष्ट्रिय खेलकुल प्रतियोगिता आयोजनाको लागि कर्णाली प्रदेशले गण्डकी प्रदेशबाट झण्डा लिने भएकोले कर्णाली प्रदेशबाट खेलाडी, प्रशिक्षक , व्यवस्थापक र पत्रकार गरी कर्णालीबाट ६ सय जनाको सहभागिता रहने छ ।

तपाईको प्रतिक्रिया