अद्यावधिक नक्साअंकित लोगो संघीय संसदका पदाधिकारीलाई हस्तान्तरण

काठमाडौं । नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्साअंकित संघीय संसदको प्रतीक (लोगो) आज संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दहाललाई लोगो हस्तान्तरण गरेका हुन् । सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दाहालले आजैदेखि नयाँ लोगो लगाएका छन् ।

गत जेठ ११ गते बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमाअनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोस्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो । कार्यव्यवस्था परामर्श समितिको सोही निर्णयअनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो ।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा एक तोला चाँदीको बेस र ३/५ सेन्टिमिटर व्यास छ । लोगो वाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रतिलोगो पाँच हजार पाँच सय २७ रुपैयाँ खर्च लागेको छ । संघीय संसदका सदस्यहरुलाई समेत नयाँ नक्सा अंकित लोगो आजैदेखि उपलब्ध गराइने सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया