वीरेन्द्रनगरका पेट्राेल पम्पहरुकाे अनुगमन

सुर्खेत । स्थानीय प्रशासनले वीरेन्द्रनगरमा रहेका पेट्राेल पम्पहरुकाे अनुगमन गरकाे छ । कालोबजारी र कृत्रिम अभावसँगै भवितव्य परेका बेला आवश्यक पर्ने इन्धनको भण्डारण गर्ने लगायतका उद्देश्यले अनुगमन सुरु गरिएको जनाएको हाे ।


अनुगमका क्रममा आसन्न स्थानीय तहको निर्वाचन लक्षित दल तथा उम्मेदवारहरूबाट प्रचारप्रसारमा पेट्रोलियम पदार्थको खपत ह्वातै बढेपछि माग दोब्बरले बढेको पाइएको छ । केही पेट्रोल पम्पहरूले न्यून मात्रामा इन्धनको भण्डारण गरेर राखे पनि धेरैजसोले माग र आपूर्तिको सन्तुलन नै मिलाउन नसकेको पाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सूर्य थापाले बताए ।

उनले आसन्न निर्वाचनमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सहज आपूर्तिसँगै वितरण प्रक्रियालाई चुस्त दुरुस्त राख्न जिल्ला प्रशासन कार्यालयबाट नेपाल आयल निगम प्रादेशिक कार्यालय सुर्खेतलाई निर्देशन भइसकेको जानकारी दिए । नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयका प्रतिनिधि हस्त भारतीले सार्वजनिक बिदा परेका बेला माग र आपूर्तिको सन्तुलनमा असहजता देखिएको भएपनि अहिले सहज बनाइएको जानकारी दिए ।

उनकाअनुसार निर्वाचनलाई लक्षित गरी आयल निगमले इन्धन आपूर्ति तथा वितरण प्रक्रियालाई सहज र सरल बनाइरहेको छ । राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले निर्वाचनमा हुन सक्ने कालोबजारी र कृत्रिम अभाव रोक्न प्रशासनलाई विशेष निगरानी राख्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया