सुर्खेत । चिनको तिब्बतसँग जोडिएका कार्णालीका सीमा नाका बैशाख ३० गते रातीसम्म बन्द गरिएको छ । भोलि (शुक्रबार) हुने स्थानीय तह निर्वाचन–२०७९ लाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडाईका लागि कर्णाली र तिब्बतसँग जोडिएका सीमा नाका बन्द गरिएको हो ।
चिनको तिब्बतसँग नाका जोडिएका कर्णाली प्रदेशका हुम्ला र डोल्पा जिल्लाका सीमा नाकामा सुरक्षा व्यवस्थालाई कडाई पारिएको हो । हिमाली जिल्ला हुम्लामा चिनसँग जोडिएका सीमा नाकाहरु भने पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुपम पौडेलले जानकारी दिए । उनका अनुसार हुम्लाको नाम्खा गाउँपालिकामा पर्ने हिल्सा नाकालाई तिब्बतसँग जोडिएको ठुलो नाकाको रुपमा लिइन्छ ।
उक्त नाका मंगलबार मौन अवधि सुरुभएदेखि बन्द गरिएको छ । यस्तै, पौडेलले वैशाख २१ गते नै सीमा नाका बन्द गर्ने निर्णय भएको बताए । हिल्सा बाहेक हुम्ला जिल्लाका अन्य लिमी लाप्चा, दोजाङ, नेप्का लगायतका साना खुला सीमाहरुमा पनि सुरक्षा व्यवस्थालाई कडाई गरिएको अधिकारीहरुले बताएका छन् ।
यस्तै, डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले डोल्पा र तिब्बतसँग जोडिएको तितर नाका कोभिडको समयदेखिनै आवजजावतमा पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए । अधिकारीले भने, ‘हिजो आज सिमा नाकामा रहेका सुरक्षा अधिकारीहरुसँग कुनै सम्पर्क हुन सकिरहेको छैन् । यद्यपि त्यहाँ यसअघिदेखिनै कडा सेक्युरेटी प्रदान गरिएको अवस्था रहेको छ भने तितर नाकासहित खुला सीमा नाका क्याटो र मरिममा पनि सुरक्षामा कडाई गरिएको छ ।’
यस्तै, कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको बइई नाकालाइ पनि निगरानी गरिएको सुर्खेत प्रशासनले जनाएको छ । कर्णालीको भारतसँग जोडिएको सीमा नाका छैन् । कर्णालीको दक्षिणतर्फ सीमामा पर्ने लुम्बिनी प्रदेशका बाँके र बर्दियासँग भारतको सीमाना जोडिएका छन् ।
दिनेश बुढा । २०७९ बैशाख २९, बिहीबार