लोकप्रिय मत ल्याएका उपप्रमुख खनालकाे जित सुनिश्चित

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको मतपरिणाम करिव अन्तिम चरणमा छ । वीरेन्द्रनगर कर्णाली प्रदेश राजधानीको नगरपालिका भएकाले पनि यहाँ कसको पल्लाभारी हुन्छ भन्ने चौतर्फी चासो र सरोकार छ । नगरपालिकाका १६ मध्य १५ वडाको नतिजा सार्वजनिक भइसकेको छ । उम्मेद्वारहरुको मत परिणाम सार्वजनिक भइरहँदा चर्चामा रहेका व्यक्ति हुन निलकण्ठ खनाल ।

उपप्रमुख पदका उम्मेद्वार खनाल मतगणना शुरु भएदेखी नै सर्वाधिक मतान्तरले अघि छन् । वीरेन्द्रनगरमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रविच चुनावी गठबन्धन भएको पालिको हो । तर एमालेका उम्मेद्वार खनालले हालसम्म १८८५६ मत प्राप्त गरिसकेका छन् । उपमेयर पदका उम्मेद्वार नेकपा माओवादी केन्द्रका शान्ति ढकालले १०६६१ मत मात्रै पाएकी छन् ।

खनाल र ढकालविचको मतान्तर भने ८१९५ मत हो । ढकालसहित अन्य उपप्रमुखका उम्मेद्वारले पाएको मत जोड्दा पनि खनालको मत करिव दुई हजारभन्दा बढी छ । यसकारण उनी लोकप्रिय मतसहित जितको नजिक छन् । निर्वाचन समितिले सबै मत गणनापछि मात्रै विजयी घोषणा गर्नेछ । तर खनाललाई मतगणनाको दोस्रो दिनदेखी नै बाहिर विजयी घोषणा गरिसकेका छन् ।

खनाल २०७४ सालको स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगरको वडा नम्बर ४ को वडाध्यक्ष निर्वाचित भएका थिए । उनले वडाध्यक्ष पदबाट राजिनामा दिए नगरपालिकाको उपप्रमुख पदमा उम्मेद्वारी दिएका हुन् । हाल वडा नम्बर ९ को मतगणना जारी छ । आज दिउँसोसम्म वीरेन्द्रनगरले नयाँ मेयर पाइसक्नेछ । प्रमुख पदमा नेकपा एमालेका मोहनमाया ढकाल नेपाली काँग्रेसका उम्मेद्वार उपेन्द्रबहादुर खड्काभन्दा चारसय मतान्तरले अगाडी छन् ।

शुक्रबार विहान ११:३० बजेसम्म याे समाचार तयार मत गणना भइरहेकाे अन्तिम वडा ९ नम्बरकाे शुरुवाती गणनामा ढकाल १४७३६, खड्काले १४३०३ मत ल्याएका छन् । ढकाल र खड्काकाे मतान्तर भने ४३३ छ । यस्तै मेयर पदका उम्मेद्वार राप्रपाका मुकुन्दश्याम गिरीले ८७८७ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया