काठमाडौं। स्थानीय तह सदस्य निर्वाचन २०७९ को दुई साता बित्नै लाग्दा देशभरका ७५३ मध्ये ६१७ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। आज शुक्रबार बिहान ६ बजेसम्ममा उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका गरी ६१७ स्थानको अन्तिम नतिजा आएको हो। ६ वटा महानगरमध्ये कुनैको पनि मतगणना सकिएको छैन।

अहिलेसम्म २७३ पालिका जित्दै नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ। दोस्रोमा रहेको नेकपा एमालेले १७१ र तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले १११ स्थान जितेका छन्। जनता समाजवादी पार्टीले १८, नेकपा एकीकृत समाजवादीले १४, लोकतान्त्रिक समाजवादी पार्टीले ७ स्थानमा प्रमुख पद जितेका छन्। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल लोकतान्त्रिक पार्टीसहित स्वतन्त्रतर्फका उम्मेदवारले २३ ठाउँमा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ।
उपप्रमुखतर्फ कांग्रेसले २५०, एमालेले १९२, माओवादी केन्द्रले ११६, एकीकृत समाजवादीले २०, जसपाले १७, लोसपाले ७ र अन्य दल तथा स्वतन्त्र उम्मेदवारले १५ ठाउँमा जितेका छन्। ३० वैशाख (गत शुक्रबार) देशभर एकै चरणमा स्थानीय निर्वाचन भएको हो।









नेपालीरैबार । २०७९ जेष्ठ ६, शुक्रबार