स्थानीय तह निर्वाचन–२०७९

कर्णालीका सबै पालिकाको नतिजा सार्वजनिक कसले कति जिते ?

सुर्खेत। स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत कर्णाली प्रदेशका सबै पालिकाको नतिजा सार्वजनिक भएको छ। अन्तिम परिणामअनुसार यो पटक कर्णालीमा नेकपा एमालेले घाटा बेहोरेको छ।

२०७४ को निर्वाचनबाट कर्णालीका २६ पालिकामा नेतृत्व लिएर पहिलो दल बनेको एमाले अहिले १५ पालिकामा खुम्चिएर तेस्रो बनेको छ। २०७४ मा तेस्रो बनेको नेपाली कांग्रेस भने पहिलो बनेको छ। नेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा २४ पालिका जितेको थियो। अहिले ७९ मध्ये ३२ पालिकामा नेतृत्व पाएको छ।

अघिल्लो निर्वाचनमा दोस्रो बनेको माओवादी अहिले पनि दोस्रोमै सीमित छ। तर गएको निर्वाचनभन्दा अहिले माओवादीले कम पालिका जितेको छ। पहिले २५ पालिका जितेको थियो भने अहिले २३ वटा पालिकामात्र जितेको छ। माओवादीले अहिले कांग्रेससँग गठबन्धन गरे पनि कर्णालीमा पहिलेको जति पालिकामा जित्न सकेन।

माओवादीको बलियो पकड मानिने रूकुम पश्चिमको मुसिकोट नगरपालिकाको नेतृत्व कांग्रेसले माओवादीबाट खोसेको छ। यस्तै अरू पालिका पनि कांग्रेसले माओवादीबाट खोसेको छ।

माओवादीले यसपटकको निर्वाचनबाट पहिले एउटा पालिका पनि नजितेका जिल्लाहरू दैलेखमा दुइटा र सुर्खेतमा एउटा पालिकामा प्रमुख जितेको छ।

नेकपा एमालेले अहिलेको निर्वाचनबाट कर्णालीका पाँच वटा जिल्लाका कुनै पनि पालिकाको नेतृत्व लिन सकेन। रूकुम पश्चिम, हुम्ला, कालीकोट, जुम्ला र मुगुका पालिकाहरूमा एमालेले नेतृत्व लिन सकेन। २०७४ मा एमालेले हुम्लामा १, मुगुमा १, जुम्लामा १, कालीकोटमा ३ पालिका जितेको थियो। अहिलेको निर्वाचनबाट एमालेले सुर्खेतका ४, दैलेखका ४, जाजरकोटका ३, डोल्पाका २ र सल्यानका २ पालिकासहित १५ पालिकामा नेतृत्व पाएको छ।

माओवादी केन्द्रले रूकुम पश्चिमका ४, सुर्खेतको १, दैलेखका २, जाजरेकोटको १, हुम्लाका ३, कालीकोटका ५, जुम्लाका २, मुगुको १, डोल्पाका २ र सल्यानका २ पालिकासहित २३ पालिकाको नेतृत्व पाएको छ। नेपाली कांग्रेसले रूकुम पश्चिममा २, सुर्खेतका ४, जाजरकोटका ३, हुम्लाका ३, कालीकोटका २, जुम्लाका ५, मुगुका २, डोल्पाको १, सल्यानका ५ र दैलेखका पालिकासहित ३२ पालिकामा नेतृत्व पाएको छ।

यस्तै, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले डोल्पाका २, मुगु र सल्यानका १/१ पालिकासहित ४ पालिकाको नेतृत्व लिएको छ। अहिलेको स्थानीय तह निर्वाचनबाट ५ जना स्वतन्त्र उम्मेदवारले पालिकाको प्रमुख/अध्यक्ष जितेका छन्।

हुम्लाको चंखेली गाउँपालिका, कालीकोटको खाँडाचक्र नगरपालिका, सन्नीत्रिवेणी गाउँपालिका, जुम्लाको चन्दननाथ नगरपालिका र डोल्पाको डोल्पोबुद्ध गाउँपालिकामा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्। २०७४ मा ४ जना स्वतन्त्र उम्मेदवार प्रमुख/अध्यक्षमा निर्वाचित भएका थिए। सल्यानमा १ र डोल्पाका ३ पालिकामा स्वतन्त्र उम्मेदवार पालिकाको प्रमुखमा निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया