दैलेखमा बस दुर्घटना अपडेट : मृत्यु भएका चार जनाको पहिचान खुल्यो

३९ जना घाइतेकाे पदेश अस्पतालमा उपचार हुँदै

सुर्खेत । बुधबार राती दैलेखको आठबीस नगरपालिका–२ को सिस्नेमा भएको यात्रुबाहक बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा दैलेखको दुल्लू नगरपालिका–९ का बर्ष ३६ को काँशिराम पाण्डे र बर्ष ३२ को प्रेम सुनार रहेका छन् ।

यस्तै, दुई जना कालिकोटका रहेका छन् । कालिकोटको पलाँता गाउँपालिका–३ का अन्दाजी बर्ष ४६ को ज्ञानबहादुर बम, अन्दाजी बर्ष ५५ को धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखमा प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

उनका अनुसार सामान्य चोटपटकदेखि लिएर गम्भीर गरि ३९ जना घाइते भएको प्रहरीको इन्ट्रिमा छ । अरु पनि इन्ट्रि गर्ने क्रम जारी छ । घाइतेहरु सबैलाई गएराती नै उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको साहले बताए ।

बसमा झण्डै ६२ जना जति रहेको प्रहरीको अनुमान छ । मुगु, कालिकोट हुँदै नेपालगन्ज जाँदै गरेको म १ ख ६६० नम्बरको उक्त बस कर्णाली राजमार्गबोट झण्डै ४० मिटर तल कर्णाली नदीको छेउमा खसेको थियो ।

साहका अनुसार बस चालक भने प्रहरीको नियन्त्रणमा रहेका छन् । यद्यपि बस के कति कारणले दुर्घटना भएको हो त्यसको एकिन कारण खुल्न सकेको छैन् ।

तपाईको प्रतिक्रिया