एमाले सिम्तामा चुनावी अन्तर्घातलाई लिएर नेताहरुबीच दोहोरी

सुर्खेत। जिल्लाको पुर्वी क्षेत्रमा पर्ने सिम्ता गाउँपालिकाको चुनावमा एमाले नेता डण्डिप्रसाद शर्माले हराउँने प्रयास गरेको भन्ने आरोप सहितको एमाले जिल्ला कमिटि सुर्खेतका सचिव कविन्द्रकुमार केसीको अडियो सार्वजनिक भएको छ।

उक्त अडियो सार्वजनिक भएसँगै एमाले सुर्खेतका कार्यकर्तामा आरोप प्रत्यारोप चलेको छ। पालिकाको वडा नं. २ काफलकोटमा वडा सदस्य उम्मेदवार बनेका पूर्णप्रसाद शाहीलाई हराएको भूमिका खेल्नेहरु भन्दै डण्डिप्रसाद शर्मा, प्रकाश शर्मा, प्रेम थापा, घनश्याम बस्नेत ‘सानो’, र रेशम बस्नेतले घात गरेको आरोप केसीले लगाएका छन्।

सिम्ताको वडा नम्बर २ मा एमालेबाट निर्वाचित वडाअध्यक्ष खगेन्द्रसिंह ठकुरी र कविन्द्र केसीको फोन कुराकानी सार्वजनिक भएपछि एमाले वृत्तमा चर्को आलोचना हुन थालेको हो।

शाहीले वडा सदस्य उम्मेदवार बनेर जिल्ला समन्वय समितिमा आउन खोजेका थिए । तर, उनलाई वडामै हराइ दिएको भन्दै सचिव केसीले आरोप लगाएका हुन्। निवर्तमान गाउँपालिका अध्यक्ष समेत रहेका केसीले उक्त वडामा एमालेलाई आउनुपर्ने चार सय भोट नआएको भन्दै उक्त आरोप लगाएका हुन्।

यसबारेमा कुरा गर्न खोज्दा केसीको फोन उठेन्। ‘उहाँको पालिका हराउने योजना थियो। काप्रिचौर र राकममा काँग्रेस जितेको छ भने हामीले हारेका छौं। उहाँका मान्छेले पालिका अध्यक्ष ऐनबहादुर चन्दलाई हराउन खोजेका छन्।

सचिव केसीमा आफू पालिका अध्यक्षको टिकट नपाएको झोक कायमै छ।’ आरोपित एमाले नेता शर्माले भने, ‘उहाँ खुरापातमा अब्बल हुनुहुन्छ। पार्टी कमिटिमा छलफल होला नै।’ एमाले नेता शर्मा एमाले सुर्खेतको जिल्ला अध्यक्षमा चुनाव लडेपनि अमृत विसीसँग पराजित भएका थिए।

तपाईको प्रतिक्रिया