सल्यानबाट फरार दुई अभियुक्त पक्राउ

सुर्खेत । सल्यान प्रहरीले लेनदेन मुद्दा र हुँडारको छाला ओसारपसार मुद्दाका फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ। आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

लेनदेनको बिगो मुद्दामा फरार सल्यान बागचौर नगरपालिका–१० पिपलनेटाका ४३ वर्षीय देवराज गिरी र हुँडारको छाला ओसारपसार मुद्दामा बागचौर नगरपालिका–६ कोटबाराका ३२ वर्षीय गोपाल बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

लेनदेनको बिगो मुद्दामा दाङ जिल्ला अदालतले २०७८ चैत २५ गते गिरीलाई तिर्नुपर्ने सावाँ ब्याजसहित २ वर्ष कैदको फैसला गरेको थियो।

यस्तै, हुँडारको छाला (आखेटोपहार ओसारपसार) मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०७८ असार ०६ गते ३५ दिने पक्राउ पुर्जी तामेल गरेकोमा सो अवधिमा निज अदालतमा उपस्थित नभई हालसम्म फरार रहेका थिए।

आवश्यक कारबाहीका लागि गिरीलाई सल्यान अदालत र बस्नेतलाई दाङ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

तपाईको प्रतिक्रिया