बराहताल-८ का वडाध्यक्ष कार्कीले आफू खुशी निर्णय गरेको भन्दै कार्यालयमा ताला

कार्कीकाे पहिलो निर्णय नै विवादित

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिका-८ का वडाअध्यक्ष केशर कार्कीले पदबहालीसँगै गरेको पहिलो निर्णय विवादित बनेको छ । जेठ १२ मा उनले वडा कार्यालय आफ्नै वडामा सार्ने निर्णय गरेका थिए ।

वडा नं. ५ को बड्डिचौरबाट सञ्चालन भई रहेको वडा कार्यालयलाई कार्कीले आफ्नै घरपाएक दमार सार्न खोजेपछि स्थानीयले वडा कार्यालयमा ताला लगाई दिएका हुन् । पदभारग्रहण पश्चात बसेको पहिलो कार्य समिति वैठकले वडा कार्यालय साविक कुनाथरी गाविस वडा नं. ५ दमारमा सार्ने निणर्य गरेपछि स्थानीय आक्रोसित बनेका हुन् ।

वडाध्यक्षको निणर्य विरुद्ध साविकको वडा नं. ६, ७ र ९ का स्थानीयवासीहरुले संघर्ष समिति नै बनाएर आन्दोलनमा उत्रिएका छन् । संघर्ष समितिका संयोजक पूणर्बहादुर शाहीका अनुसार जबसम्म वडाध्यक्षको निणर्य खारेज हुँदैन तबसम्म कार्यालयमा लागेको ताला नखुल्ने बताए ।

शाहीका अनुसार दमार भुगोलका आधारमा साविक कुनाथरी गाविस वडा नं. ६, ७, ९ र हालको वडा नं. ८ का भट्टेघारी, रानिवन, जोगीडाँडा, गभेना, आलडाँडा, कुम्भिकोट लगायत वस्तीहरुका लागि उल्टो र अपाएक रहेको बताउँछन् ।

आन्दोलनमा उत्रिएका स्थानीय वासीले गाउँपालिकामा वडाको केन्द्र दमारलाई मान्न नसक्ने भन्दै सहजिकरण गरिदिन निवेदनसमेत दिएका छन् । कार्यालयमा ताला लागेको तीन दिन भई सक्दा पनि वडाध्यक्ष कार्कीले समस्या समाधन गर्नुको साटो उल्टै धम्काउँदै हिँडेको स्थानीयको आरोप छ ।

यता, वडाअध्यक्ष कार्की भने आफूले गरेको निणर्य जायज रहेको दावी गर्दै आएका छन् । वडा कार्यालयको भाडावापत हुने खर्च जोगाउन यस्तो निणर्य गरेको बताउदै कार्कीले भने, ‘त्यो निणर्य जनताको पक्षमा गरेको हो । राजनीतिक रंग दिएर समाजलाई विभाजित गर्ने प्रयास हुँदैछ’, उनले भने,  ‘हामी वडा पालिकाका सबै जनप्रतिनिधिले गरेको निणर्यमा अगाडी छौं ।’

तपाईको प्रतिक्रिया