मानव बेचबिखन सम्बन्धी सेलर्डको अभिमुखिकरण

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा मानव बेचबिखन तथा बाल संरक्षण सम्बन्धि अभिमुखिकरण सम्पन्न भएको छ । बिहीबार वीरेन्द्रनगरमा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड)को आयोजनामा ‘सुरक्षाको लागि साथ–साथ परियोजना’ भन्ने मुल नाराका साथ मानव बेचबिखन र बाल संरक्षण सम्बन्धि पत्रकारहरुसँगकाे अभिमुखिकरण सम्पन्न भएको हो ।

अभिमुखिकरणमा नेपालमा हुने मानव बेचविखन तथा मानव तस्करीको अवस्था, विद्यमान ऐन, नियम तथा कानुन, तस्करी हुने अवस्था र बाल संरक्षणका लागि भएका प्रयासका बारेमा पत्रकारहरुलाई जानकारी गराइएकाे छ । मानव बेचबिखन तथा बाल संरक्षणका क्षेत्रमा कानूनी पैरवी गर्दै आएको संस्थाले मानव बेचबिखन तथा बाल संरक्षणमा सञ्चार माध्यमको भुमिका महत्वपूर्ण हुने भन्दै विद्यमान कानुनमा व्यवस्था भएका ऐन नियमका बारेमा पत्रकारहरुलाई जानकारी गराइएकाे हाे ।

कार्यक्रममा काठमाडौं स्कुल अफ ल का सह–प्राध्यापक कपिल अर्यालले बाबु आमा भएका बालबालिका पनि बालगृहमा आउने गरेको बताए । आश्रयका लागि कुनै उपाए नभएका बालबालिका पनि विभिन्न कारणले बालगृहमा आइपुग्ने उल्लेख गरे ।

धर्मपुत्रको रुपमा पाल्न, बालबालिकाका विभिन्न अंङ्ग प्रत्याङ्ग झिक्ने तथा मरुभुमिमा उटको गोठालो बनाउनका लागि नेपालबाट बालबालिका बेचिने गरेको उनले उल्लेख गरे । बाल संरक्षणका क्षेत्रमा सरकारले विभिन्न ऐन कानुन निर्माण गरेको भएपनि बालमैत्री नहुँदा अझै पनि बालबालिका शिक्षा, स्वास्थ्यबाट बञ्चितहुँदै बेचिनु परेको बताए ।

नेपालमा बाल संरक्षणका लागि खोलिएका केही बालगृहरुमा कानुन विपरित बालबालिका राखिने गरिएको उनको भनाई थियो । यस्तै, अधिवत्ता सन्तोष महर्जनले बालबालिकाहरु परिवारबाट विस्थापितहुँदै कसरी बालगृहसम्म पुग्छन्, बालगृहमा आइसकेपछि उनीहरुको अवस्था कस्तो छ, उनीहरुको दिर्घकालिन व्यवस्थापन कसरी गर्न सकिन्छ, बालबालिकाको श्रमसोषण, बाल हिंन्सा, जस्ता विषयमा पत्रकारहरुले कलम चलाउन आवश्यक रहेको उल्लेख गरे ।

सञ्चार माध्यमले मानव वेचविखन तथा ओसारपसारको जन्जिरलाई तोड्न ग्राउण्ड रिर्पोटमार्फत नीति निर्मातालाई झक्झक्याउन भुमिका खेल्नु पर्नेमा महर्जनले जोड दिए । समाचार सामाग्री तयार पार्दा त्यस्ता सामाग्रीले पीडितलाई थप पीडा हुने खालका सामाग्री प्रशारण गर्न नहुने महर्जनको भनाई छ ।

अभिमुखीकरणमा अधिकारकर्मी उषा अधिकारी, अधिवक्ता सन्तोष महर्जन र सह–प्राध्यापक कपिल अर्यालले सहजिकरण गरेका थिए । पत्रकार महासंघ शाखा सुर्खेतका सचिव ललितबहादुर बुढाले तालिममार्फत आफूहरुले मुद्दा उठानका विषयमा जानकारी भएको उल्लेख गरे ।

समाचारमा शब्द तथा विषयवस्तु चयन, मानव बेचविखन तथा बालबालिका संरक्षण क्षेत्रका मुद्दाहरु उठान गर्न सहज हुने उनले बताए ।  यस्तै, नेपालप्रेसमा कार्यरत पत्रकार शेरबहादुर थापाले बालबालिका लक्षित तीनै तहका सरकारले नीति बनाउन नसक्दा बालबालिका पीडित बन्ने गरको उल्लेख गरे ।

थापाले भने, ‘स्थानीय तहहरुमा पनि बालबालिका लक्षित नीति निर्माण गर्नु पर्छ भन्ने विषय थाहा थिएन । आज यो तालिमले यी विषमा जान्ने अवसर दियो । अबदेखि हाम्रा खोजिका विषयहरु बालबालिकाको हकहित र मानव वेचविखनका विरुद्ध हुनेछन् ।’

यस्तै, कान्तिपुर दैनिकमा कार्यरत पत्रकार चाँदनी कठायतले ठुला स्टोरी लेखिएको भएपनि मानव वेचविखन र बाल संरक्षणका क्षेत्रका मुद्दा उठानमा अझै अनविज्ञ रहेको महशुस आफूले गरेको उल्लेख गरिन । छोटो समयमा गरिएको कार्यक्रमबाट पाउनु पर्ने पर्याप्त ज्ञान नभए पनि मुद्दा उठानका विषयमा सहयोग मिलेको उनले बताउँदै आगामी दिनहरुमा पनि यस्ता अभिमुखीकरण कार्यक्रमले निरन्तरतामा जोड दिनु पर्ने भनाइ राखिन् । कार्यक्रममा सुर्खेतमा रहेर राष्ट्रिय तथा स्थानीय सञ्चार माध्ययममा कार्यरत करिव दुई दर्जन बढि पत्रकारहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया