छोइछिटो कायमै भएपछि छुवाछुतमुक्त वडा बनाउने प्रतिबद्धता

सुर्खेत । सुर्खेतका ग्रामिण क्षेत्रमा कुनै न कुनै रुपमा जातिय विभेदका घटनाहरु भइरहेको गुनासो बढेको छ । समाजमा अझै पनि माथिल्लो जातका व्यक्तिहरुले छोइछिटो गर्ने, दलित भएकै कारण अपमान गर्ने र दलितमाथिको विभेद हटाउन व्यवहारत लागु नभएको दलित समुदायले गुनासो गरेका हुन् ।

शनिबार भेरीगंगा नगरपालिका–१३ रामघाटमा आयोजित अन्तर (दलित र गैरदलित) समुदाय संवाद कार्यक्रममा सहभागी दलित समुदायका नागरिकहरुले कानूनी रुपमा छुवाछुत र जातिय विभेद गर्नुहुँदैन् भन्ने उल्लेख गरेपनि समाजमा यी घटनाहरु बारम्बार भइरहेको गुनासो गरेका छन् । छुवाछुतका घटनाहरुमा शिक्षित व्यक्तिहरुबाटै हुने गरेको भक्त नेपालीले बताए ।

‘पुराना व्यक्तिहरुबाट छुवाछुत कुरा गर्नु स्वभाविकै हो, किनकी उनीहरु त्यहीँ मानसिकताबाट आएका व्यक्ति हुन्,’ नेपाली भन्छन्, ‘अहिलेको नयाँ पुस्ता जुन परिवर्तनकारी हुन् जुन शिक्षित र वौद्धिक वर्गका हुन् तर उनीहरुबाटै छुवाछुत र जातिय विभेदमा उद्दत भएको देखिन्छ, जुन राम्रो पक्ष मान्न सकिँदैन् ।’

अन्तरजातिय विवाह गरेकी मनिषा विकले धारामा पानी लिन जाँदा छुइ हुन्छ भन्दै विभेद गर्ने गरेको गुनासो गरिन् । अन्तरजातीय विभेदकै कारण परिवारबाट अपिहेलित बनेकै छौं तर समुदायले पनि विभेद गर्दा समुदाय अझै रुपान्तरण नभएको उनले उल्लेख गरिन् । दलित समुदायका नागरिकहरुले संविधानमा उल्लेखित कानूनलाई अक्षरस्त पालना गर्न आग्रह गरेका छन् ।

‘कानून छ भन्ने कार्यान्वयन गर्ने निकाय मौनहुँदा दलितमाथि बेला बखत अप्रिय घटना हुने गरेका छन्,’ स्थानीय लक्ष्मण सुनारले भने, ‘मानसिकताबाटै जातिय विभेद अन्त्य गर्न प्रभावकारी रुपमा कानून कार्यान्वयन गर्न जरुरी छ ।’ उनले नजिकको सरकार स्थानीय सरकार भएकाले वडा कार्यालयबाट सामाजिक विकृती हटाउनमा गम्भीर बन्न सुझाए ।

समुदायबाट उठेका गुनासोहरुको सम्बोन्धन गर्दै भेरीगंगा नगरपालिका–१३ का वडाध्यक्ष गणेशबहादुर भण्डारीले आफ्नो कार्यकालमा छुवाछुत र जातिय विभेद गर्नेलाई कानूनी दायरामा ल्याउने प्रतिवद्धता जनाए । वडामा १२ जोडीले अन्तरजातिय विवाह गरेकाले उनीहरुको सुरक्षाका लागि वडा कार्यालय कटिवद्ध रहेको र उनीहरुले समाजमा कुनै अपहेलित हुने गतिविधि गर्नेलाई कानूनी दायरमा ल्याउने बताए ।

आगामी पाँच वर्षमा वडालाई छुवाछुत तथा जातिय विभेदमुक्त वडाको बनाउन कटिवद्ध भएर लाग्ने उनले उल्लेख गरे । ‘दलित भएकै कारण कसैले अपमानित हुनुपर्ने छैन्,’ वडाध्यक्ष भण्डारीले भने, ‘दलित भएकै कारण समाजले विभेद गरेमा तत्काल आफूलाई खवर गर्न आग्रह गर्दछु, वर्षौदेखीको जरो उखेल्न सबैको साथ आवश्यक रहेकाले सहयोग गर्न आग्रह गर्दछु ।’

भेरीगंगा नगरपालिकाको सहयोग र नेपाल पीडित समुदाय संरक्षण केन्द्र (नेप्सकोन) सुर्खेतको आयोजनामा गरिएको कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक धनमल विकेले जिल्लामा सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी गराएका थिए । कार्यक्रममा सिभिल सोसाइटीका सामाजिक अभियान्ता गजधर सुनारले नेपालमा छुवाछुत र जातिय विभेदका घटना हुनुका कारण र त्यसको न्यूनिकरणका लागि थाल्नु पर्ने विषयमा जानकारी गराएका थिए ।

उनले नेपालका विकास नहुनुमा स्रोत साधनको सही परिचालन नहुनु, जातिय विभेद कायमै रहनु र भ्रष्टाचार गतिविधिले प्रसय पाउनु मुख्य कारण रहेको उल्लेख गरे । नेपाल पीडित समुदाय संरक्षण केन्द्र (नेप्सकोन) सुर्खेतले जिल्लामा विगत दुई दशकदेखी वन, कृषि, वातावरण, सुशासन, गरिवि निवारण, जनवकालत तथा छुवाछुत र जातिय भेदभाव विरुद्धका गतिविधिहरु सञ्चालन गर्दै आएको केन्द्रका कार्यकारी निर्देशक विकेले बताए । कार्यक्रममा दलित र गैरदलित समुदायका स्थानीयहरुको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया