कर्णालीमा चलचित्र कार्यशालाको आयोजना गरिँदै

सुर्खेत । कर्णाली प्रदेशमा ‘कर्णाली प्रदेश चलचित्र कार्यशाला २०७९’ को आयोजना गरिने भएको छ । केबी इन्टरटेनमेन्ट एन्ड गू्रव प्रा.लिले मंगलबार पत्रकार सम्मेलन गर्दै कार्यशालाको आयोजना गरिने बताएको हो ।

प्रा.लिको आयोजनामा उक्त कार्यशाला असार ११ गतेदेखि १७ गतेसम्म प्रदेश राजधानी वीरेन्द्रनगरमा हुने छ । प्रा.लिले कार्यशालामा कर्णालीको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता, जनजीवनको कथालाई चलचित्रमा ल्याउने उद्देश्य राखेको छ ।

केबी इन्टरटेनमेन्टका अध्यक्ष भूपेन्द्रकुमार खड्काले कर्णाली प्रदेशमै दक्ष चलचित्रकर्मी जन्माउन आवाश्यक रहेको भदै कार्यशालाको आयोजना गर्न थालिएको बताए । खड्काले भने, ‘केन्द्रबाट सिनेकर्मीले यहाँको समस्यालाई मात्र हेर्ने गरेका छन् । विविध स्रोत, साधन हुँदा हुँदैपनि कर्णाली चलचित्र निर्माणमा पछाडी परेको हो ।’

खड्काले कर्णालीको बास्तविकतालाई यहीकै सिनेकर्मीहरुले राम्ररी बुझेर सिनेमामा उतार्न सक्ने भएकाले कार्यशालाको आयोजना गरिएको बताए । ‘प्रदेशकै चलचित्रकर्मीले मात्र कर्णालीको जनजीवनका कथामा उतार्न सक्ने र विश्वमा कर्णालीको अवस्था, संस्कृतिलाई पु¥याउने यसले टेवा पुग्ने छ,’ उनले भने ।

उक्त कार्यशाला प्रशिक्षण कार्यक्रममा कर्णालीका दश वटै जिल्लाका २० जनालाई सहभागिता गहने छन् । उनीहरुलाई बरिष्ठ कलाकार निर शाह, चलचित्र बोर्डका पुर्वअध्यक्ष दयाराम दाहल लगायतका प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् । कार्यक्रमलाई चलचित्र विकास बोर्डले प्रायोजन गरेको छ ।

अध्यक्ष खड्काले कार्यशालामा सहभागि विद्यार्थीहरुले एक सातासम्म चलचित्र सिकेर प्रयोगात्मक रुपमा चलचित्र पनि निर्माण गर्ने बताए ।

यस्तै, एक साता कार्यशालामा चलचित्र प्रोडक्सनलाई बढी महत्व दिइने छ । प्रि प्रोडक्सन, प्रोडक्सन र पोष्ट प्रोडक्सन अन्तर्गत चलचित्रबारे अनुसन्धान, लेखन, निर्देशन, निर्माण, छायांकन, सम्पादन र अभिनय जस्ता विविध विधामा प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया