कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण लाइन निर्माणको बाटो खुल्यो

अर्को असोजमा सुर्खेतमा विद्युत पु¥याउँछौं : चौधरी

सुर्खेत । लामो प्रतिक्षापछि अन्ततः कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रशारण लाइन निर्माणको बाटो खुलेको छ । २०४५ सालमा सुर्खेतमा विस्तार गरिएको ३३ केभी प्रशारण लाइनले हालको माग धान्न नसकेपछि १३२ केभी प्रशारण लाइन निर्माण अघि बढाइएको हो । तर प्रशारण लाइनको विच खण्डमा बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने भएकाले हाइटेन्सन लाइन निर्माणका लागि रुख कटान अनुमति नहुँदा प्रभावित बनेको थियो ।

सोमबार संघ सरकारले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेपछि निर्माणको बाटो खुलेको हो । मन्त्रीपरिषद्को निर्णयपछि अब नेपाल विद्युत प्राधिकरण र वन विभागसँग रुख कटानका लागि सम्झौता हुनेछ । सम्झाैतापछि निकुञ्ज क्षेत्रका रुखहरु निकुञ्ज कार्यालय, राष्ट्रिय वनमा पर्ने रुख सम्वन्धित जिल्ला वन कार्यालय तथा सामुदायिक वनका रुख भने सामुदायिक वनले नै कटान गर्नेछ । तर याे सबै प्रक्रिया सक्न कम्तिमा कार्तिकसम्म लाग्ने कोहलपुर–सुर्खेत १३२ केभी प्रशारण आयोजना प्रमुख रवि चौधरी बताउँछन् ।

लाइन विस्तारको क्रममा कति रुख कटान गर्ने भन्ने यसअघि नै विवरण तयार रहेकाले सम्झौता लागत्तै रुख कटानको काम शुरु हुने आयोजना प्रमुख चौधरीले नेपालीरैबारलाई जानकारी दिए । उनकाअनुसार ५२ किलोमिटर प्रशारण लाइनमा पर्ने १३ हजार ५६ रुख काट्नु पर्नेछ । आयोजना क्षेत्रमा पर्ने सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका र लेकबेँसी नगरपालिका, बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्रभित्रका रूख कटान गरिने आयोजना प्रमुख चौधरीले बताए ।

प्रसारण लाइनको ७०.५४५ भाग वनको क्षेत्र, १६.१३५ खेतीयोग्य जमिन, २.२६५ बाजो जमिन, तथा ११.०६५ अन्य भागले ओगटेको छ । विद्युत प्रसारण कार्यान्वयनका लागि विभिन्न जग्गा, जमिन, सामुदायिक वन, तथा सरकारी वन क्षेत्रका गरेर जग्गाको क्षेत्रफल कुल दुई सय २५ वर्ग मिटर हुनेछ ।

आयोजना कार्यान्वयन गर्दा कूल ९८.०५७९ हेक्टर जग्गा टावर निर्माण, सव–स्टेशन निर्माण तथा क्षेत्राधिकारको लागि आवश्यक पर्ने आयोजनाले जनाएको छ । जसमध्ये ३.७२४९ हेक्टर स्थायी रूपमा सव–स्टेशन निर्माणको लागि र ३.३०७५ हेक्टर टावरको जग निर्माणको लागि अधिग्रहण गरिनेछ भने बाँकी ९१.०२५५ हेक्टर जमिन अस्थायी रूपमा प्रयोग गर्न सकिने उल्लेख छ ।

आयोजना बाँकेको कोहलपुर सव–स्टेशनबाट शुरु भएर सुर्खेतको धुलियाविट सव–स्टेशनमा पुगेर टुंगिनेछ । सुर्खेतमा रहेन सव–स्टेशनमा जग्गाको क्षेत्रफल करिव चार हेक्टर छ । डवल सर्किट रहेन आयोजनाका एंगल टावरहरु २६ ओटासहित कुल १४५ टावर रहनेछन् ।

कोहलपुर–सुर्खेत १३२ केभि विद्युत् प्रसारण लाइनको कुल बजेट एक अर्ब ८० कराेडमध्य भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले ठेक्कामार्फत ७० करोडमा जिम्मा लिएकाे हाे । निर्माण व्यवसायीले साे रकमबाट टावर निर्माण र तार तान्ने कार्यमा मात्रै खर्च गर्नेछ भने मुआव्जाकाे रकम भने आयाेजनाले छुट्टै व्यहाेर्नेछ ।

अर्को असोजमा सुर्खेतमा विद्युत पु¥याउँछौं : चौधरी
कोहलपुर–सुर्खेत १२३ केभी विद्युत प्रशारण लाइनको विवाद नभएका क्षेत्रमा हालसम्म ४० ओटा टावरका लागि फाउण्डेशन निर्माण गरिसकिएको छ । सुर्खेत र बाँके क्षेत्रमा फाउण्डेशन सम्पन्न भएसँगै गाभरमा देखिएको समस्या समाधानमा लागिरहेको आयोजना प्रमुख चौधरी बताउँछन् ।

‘वन क्षेत्रको समस्या समाधान नहुँदा अलमल जस्तै भएको थियो,’ चौधरीले भने, ‘सरकारले वन क्षेत्र प्रयोग गर्न दिने अनुमति दिएसँगै गाभरको समस्या समाधान गरेर प्रशारण लाइन विस्तारलाई तिव्रता दिन्छौं ।’ चौधरीकाअनुसार अबको करिव १५ महिना अर्थात् आगामी वर्षको असोजमा सुब्बाकुना सव–स्टेशनमा विद्युत चार्ज गर्ने लक्ष्य लिइएको छ ।

‘अनेत्र विवाद छैन, वनको समस्या समाधान भयो । गाभरको पनि समस्या समाधान गर्छौं,’ चौधरीले भने, ‘विवाद नभएका क्षेत्रमा काम जारी रहेकाले सप्लाइका सामग्री निर्माण कम्पनीले भारतबाट ल्याउन लागेकाले करिव अर्को असोजसम्म सुर्खेतमा विद्युत पु¥याउछौं ।’

तपाईको प्रतिक्रिया