पालिकाको गाडीले विरामी ओसारपसार गर्ने, जनताको जस्तै जीवनशैली अपनाउने : चौकुने अध्यक्ष विक [अन्तर्वार्ता]

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा नेकपा माओवादीबाट अध्यक्षमा खड्क विश्वकर्मा ‘विवश’ निर्वाचित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा जिल्लाभर नेकपा माओवादी केहि वडामा मात्रै सीमित रहँदा यो वर्ष भने नौ पालिका मध्ये चौकुने गाउँपालिकामा माओवादीले विजयको पताका लह¥याउन सफल भएको हो । चौकुने गाउँपालिकाका अध्यक्ष विकले नेपालीरैबारसँग लामो कुरा गर्दै आफु अबका पाँच वर्ष छाेटाे दुरीमा मोटरसाईकल चढने बताएका छन् भने हाल पालिकाको गाडीलाई विरामी ओसारपसार गर्न लगाउने बताएका छन् । उनले भान्से देखि अलग ड्राइभर नियुक्त नगर्ने बताईरहँदा जनताकै जस्तो जीवनशैली अपनाउने प्रतिबद्धता समेत जनाएका छन् । उनले देखेको समृद्ध चौकुनेका बारेमा हामीले विकसँग कुराकानी गरेका छौं । हेर्नुहोस उहाँसँग गरिएको कुराकानीको सम्पादित अंशः

२०७४ सालमा नेकपा माओवादी सुर्खेत जिल्लाका केहि वडामा मात्रै सीमित भएको थियो, यसपटक चौकुनेको अध्यक्षमा नै जीत हात पार्नु भएको छ, यो कसरी सम्भव भयो ?

खासगरी पहिलो कुरा त जनताको अपार मायाले जीत हात पारिएको हो । जब जनताको भावनजा बुझ्न सकिन्छ, जनताको माया, प्रेरणा लिन सकिन्छ, जनताको विश्वास लिन सकिन्छ, त्यहि विश्वासको आधारमा नै मैले गाउँपालिका जितेको हो ।

लामो समय जनयुद्धमा लडनुभयो । दलित समूदायको प्रतिनिधित्व गरेर आउनु भएको छ, दलित, पिछडिएका जनताले धेरै आशा गरेका पनि होलान । ती जनताको आशा कसरी पुरा गर्नुहुन्छ ? उनीहरुका आशा के छन ?

सामान्यतया चौकुने गाउँपालिका भन्ने वित्तिकै यो लुकेको कर्णालीका रुपमा मैले चित्रण गर्नेगरेको छु । कर्णाली प्रदेशको राजधानी सुर्खेत हो भनेर चौकुने वासीले पत्याउनै नसकिने अवस्था हो । यसर्ला राजधानीको जिल्ला मात्रै भन्न सकिन्छ राजधानी भन्न सकिदैन । यहाँ थुप्रै समस्या हरु छन् । आज शिक्षाका समस्या छन्, खानेपानीका समस्या छन्, स्वास्थ्य, वाटोघाटोका समस्या छन्, अन्य सामाजिक क्षेत्रका समस्याहरु छन् । यी थुप्रै समस्या जो छन्, ती समस्याहरुलाई समाधान गर्ने चुनौतीहरु मेरो अगाडी छ । ती सबै चुनौतीहरु सम्भावना हुन भनेर मैले एउटा अवसरको रुपमा लिएको छु । यहाँ भएका विभिन्न जातजातीहरु, मुलतः आधारभूत वर्गहरु धेरै छन् । मुल कुरा के हो भने यो वर्ग गरिब छ, जो दैनिक छाक टार्न उनिरुहरु दैनिक १८ घण्टा काम गर्दा पनि अझै पेटभरि खान नपाउने वर्ग छन्, त्यो वर्गमा निकै समस्या छ । त्यो वर्गलाई हातमा लिने, त्यो वर्गको सेवा गर्ने नै यो मेरो कार्यकालको मुख्य उदेश्य रहनेछ ।

सेवाका कुरा गर्नुभयो कसरी सेवा गर्नुहुन्छ ?

पहिलो कुरा त म वर्ग पहिचान गर्छु । अहिलेसम्म को मान्छे खान्छ, को मान्छे भोकै छ भन्ने कुराको पहिचान स्थानीय सरकारले गरेको छैन । पहिलो नम्बरमा मैले आधारभूत वर्गको पहिचान गर्ने र उनीहरुलाई एउटा कार्डको व्यवस्था गर्ने योजना छ । वर्ग पहिचान भइसकेपछि हामी कार्डको व्यवस्था गर्छौं । अनि त्यसको पहिचान जब खुल्छ, त्यसपछि उसलाई के के सहयोग गर्दा उसको जीवनस्तर बदलिन्छ, हामी त्यो कार्यक्रमलाई अगाडी बढाउँछौं । मलाई लागेकै कारण एक जनलाई सर्पोट गरेको भरमा त्यहाँको त्यो समस्या समाधान हुनेवाला छैन । हामी एउटा विधीमा टेकेर, एउटा निश्चित विज्ञको समूह बनाएर पहिचान वर्ग गर्ने र त्यसपछि त्यसको समाधान गर्ने योजना बनाएर हामी अघि बढछौं ।

अध्यक्ष ज्यू, हजुर त्यहि माटोमा जन्मनु भएको छ, हुर्कनु भएको छ तपाईलाई आधारभूत वर्गको पहिचान गर्न हजुरलाई कति समय लाग्छ ?

अब पहिचान भन्नाले मान्छे चिन्नमा मलाई समस्या छैन । एउटा सत्य कुरा के भनौं भने म सबै सरर मान्छे सबै चिन्छु । मैले देख्ने नजर र विज्ञहरुले देख्ने नजर फरक छ । किनकी म सबै कुराको विज्ञ होइन । मलाई यत्ति कुरा थाहा छ कि त्यहाँ समस्या छ । तर त्यो समस्यामा परेका व्यक्ति को को हुन भन्ने कुराको पहिचान विज्ञहरुले गर्नुपर्छ ।

अलिकति पानी परे तपाईको पालिका केन्द्र सम्म पुग्न समस्या हुन्छ । हिलाम्मे र धुलाम्य तथा खाल्डाखुल्डीको सडकको रुपमा उक्त सडकलाई लिइने गरिएको छ । तपाईको कार्यकालमा वीरेन्द्रनगर देखि तपाईको पालिका केन्द्र सम्म बाटो फिलिलि बन्छ ?

म तपाईलाई मेरो पुरै कार्यकाल होइन, मेरो आधा कार्यकालकै अवधीमा बाटो राम्रो बनाउने प्रतिबद्धता जनाउँछु । मेरो आधा कार्यकालमै बाटो चौकुने गाउँपालिका पार गरिसकेको हुनेछ भन्ने मेरो विश्वास छ । किनकी त्यहाँका जनप्रतिनिधि नै कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको रुपमा विन्दमान विष्ट हुनुहुन्छ । वीरेन्द्रनगर देखि चौकुनेसम्मको दुरि ६० किलोमिटर हो । तीस किलोमिटर बाटो बड्डिचौरसम्म कर्णाली राजमार्गले बनाइसकेको छ । बड्डीचौर देखि खम्वागाडे सम्मको सडकको प्रदेश सरकारले टेण्डर आव्हान गरिसकेको छ । खम्बागाडे देखि गुटु खोला सम्मको सडक निर्माणको टेण्डर प्रक्रियामा छ ।

अब कुरा के छ भने गुटु खोला देखि खम्वागाडेसम्म ४२ किलोमिटरको कुरा छ, त्यो बाटोका लागि संघीय सरकारका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालसँग १९ गते विहान कुराकानी गरेको छु । चौकुनेको जनजीवनका समस्याका बारेमा मैले उहाँसँग सहयोग मागेको छु । उहाँले अर्थमन्त्री ज्यूसहित अन्य निकायसँग सहयोग गर्न निर्देशन पनि दिनुभएको छ । छिटो भन्दा छिटो उक्त सडक खण्डको टेण्डर गर्न लगाउँछु भन्नु भएको छ । म एकपटक भनेर छोडनेवाला छैन । म जबसम्म त्यहाँ बाटो सुरु हुँदैन तबसम्म मेरो ड्यूटी भनेको नेताहरु, मन्त्रीहरुसँग लविङ गरिरहनेछु । गाउृँपालिकासँग जाने पैसाले त्यो बाटो बनाउन सम्भव छैन । हामीले साना तिना बाटाहरु, खानेपानी, शिक्षा, रोजगारका कार्यक्रमहरु, कृषि क्षेत्रलाई उठाउने काम गर्नुपर्ने छ । हामीसँग भएको सबै पैसा लगायो भनेपनि त्यो वाटो बन्दैन । त्यसकारण मैले त्यो बाटोका लागि संघीय सरकार र प्रदेश सरकारसँग निरन्तर पहल गरिरहनेछु ।

अध्यक्ष ज्यू, तपाईको वारीपट्टीको गाउँ अध्याँरो छ, पारी कैलालीतर्फ उज्यालो छ….

यो विजुलीको कुरा के छ भने अहिले दुइटा तरिकाबाट कुरा चलिरहेको छ । एउटा त के भने ३३ केभी प्रसारणलाई वीरेन्द्रनगरबाट वावियाचौरसम्म जाने र त्यहाँबाट उता लैजाने भनिएको छ । त्यसकालागि पोलहरु गाडि सकिएको छ भने रुख कटानको अनुमति समेत पाइसकिएको छ । कानूनका कारण तार तान्न रोकिएको थियो, यसमा लगातार आर्थिक मन्त्री विष्ट त्यसमा लगातार लागिरहनुभयो र अन्ततः अहिले सफल हुनु भएको छ । रुख काटने वित्तिकै तार तान्निछ एउटा कुरा यो भयो ।

अर्को कुरा, चौकुने यस्तो गौरवको बनेको छ जहाँ एसीयाकै राम्रो सिमेन्ट उत्पादनका लागि चाहिने चुनढुङ्गा र्पाप्त मात्रामा छ । सिमेन्ट उद्योग स्थापनाका लागि सोनाकाँडा स्थित निर्माण कम्पनीले काम अघि बढाउँदैछ । लखरपाटा सिमेन्ट कारखानाका लागि वडा नं. ११ मा चार सय रोपनी जग्गा उनीहरुले लिइसकेका छन् । अर्को कुरा वेतान कर्णाली पनि अब अघि बढदैछ । त्यहि कारण पनि त्यहाँ तत्काल विजुलीको आवश्यकता पर्ने र त्यसलाई ३३ केभी प्रसारण लाइनले नधान्ने अवस्था छ । लम्की, राजकाँडा हुँदै घाटगाउँ जाने गरि उच्च गतिको प्रसारण लाईन बनाउँदा सिमेन्ट कारखानालाई र वेतान हाइड्रोलाई पनि काम लाग्ने र त्यसले चौकुनेका जनताका लागि पनि फाईदा हुने देखिएको छ । कर्णाली प्रदेशका सिचाई तथा जलस्रोत मन्त्रीसँग मेरो कुरा हुँदा यो वर्षको बजेटमा आवश्यक बजेट व्यवस्था गरेको बताउनु भएको छ ।

त्यहाँका जनताले माथिका काम वाहेक अरु के अपेक्षा गर्ने ?

पहिलो कुरा म बाट गर्ने अपेक्षा भनेको पारदर्शिताको हो । मैले भ्रष्टाचारलाई पुराका पुरा निर्मुल पारिदिन्छु, त्यसमा काहि न काहि गल्ती गर्दिन । म हिजो युद्ध लडेर आएको मान्छे हो । युद्ध लडनुको अर्थ मान्छेलाई न्याय दिनु थियो र भ्रष्टाचार मुक्त गर्नुथियो । मैले यसलाई नयाँ परिभाष बनाएको छु । म व्यक्तिगत जीवनमा भ्रष्टाचार गर्दिन र कसैलाई गर्न दिदैन । त्यो गर्ने वित्तकै जनताको हातहातमा, घरघरमा विकास पुग्छ । पालिकामा आएको बजेट थोरै होइन । ३८ करोड भनेको सानो होइन । हिजो हामीले पाँच लाख दश लाख बाँडेका थियौं, मात्रै जनता पनि इमान्दार भभइदिनु प¥यो । जनता पनि अब यो रुपैंया आयो अब हामीलाई खानका लागि आएको हो भनेर बुझ्नु भएन वाँकी मैले गर्ने काममा कहि कतै कमजोरी वाँकी राख्दिन यस्तो भयो भने सर्लक्कै विकासले सबैलाई छुन्छ । अनि गरिबहरुलाई कसरी उठाउने भन्ने काममा मलाई लाग्न सजिलो हुन्छ । किनकी जुन वर्गको मैले राजनीति गर्दै आएँ, लामो समय सर्वहारा वर्गीय पक्षधारता गर्नका लागि मैले मेरो दिमागमा जे छ, त्यो बाट गरिबहरुको जीवनस्तर नउठाईकन, गरिबहरुलाई खान र बाँच्न सक्ने नबनाईकन मैले राजनीति गर्नुको अर्थ छैन ।

तर अहिलेका माओवादी नेतालाई सुविधामुखि भए भनेर आरोप लाग्ने गरेको छ, तपाईले भन्ने एउटा गर्ने अर्कै हो की ?

मैले जनताको बीचमा जे वाचा गरेको थिएँ, त्यो वाचाका अनुसार मैले सरकारी गाडीको सुविधा लिएको छैन । मैले चुनावमा नलिने भनेको थिएँ, म अहिले आफ्नै मोटरसाइकल चढिरहेको छु । कर्णाली प्रदश २, ००१ प ५७५८ नम्बरको मोटरसाईकल मसँग छ पाँच वर्ष म यहि मोटरसाईकल चढछु । जनतालाई मेरो मोटरसाईकल नम्बर टिपेर राख्न भनेको छु । गाउँपालिकामा भएको जुन गाडी छ त्यो गाडीलाई ज्येष्ठ नागरिक, जो ७० वर्ष माथिका हुनुहुन्छ, उहाँलाई उपचारका लागि कतै लैजानु प¥यो भने त्यो गाडी उपलब्ध हुनेछ । त्यो गाडीको पट्टा नहुने र नझ्याक्ने भएकाले त्यो गाडी उहाँहरुका लागि राम्रो हुनेछ । सुत्केरी व्यथा लागेर अस्पताल पु¥याउनुपर्ने आमाहरुलाई पनि त्यो गाडीमा चढाएर लैजाने गरि मैले प्रस्ताव राखेको छु । किनकी हामी त ट्याक्टरमा चढेपनि भयो । सुत्केरी आमा, ज्येष्ठ नागरिकलाई अप्ठ्यारो छ नि, त्यसैले मैले त्यो कुरा चलाएको छु ।

दोश्रो कुरा मैले गाडी सुविधा नलिने, ड्राइभर सुविधा नलिने अनि छुट्टै भान्से सुविधा नलिने मेरो प्रतिबद्धता हो । मैले मेरो हरेक ६ महिनामा खर्च सार्वजनिक गर्ने मेरो योजनामा छ र म त्यो गर्छु । त्यसकारण पारदर्शी रहने, जनता जुन तहमा छन्, म त्यहि लेभलमा बाँच्छु । किनकी मैले गाडी चढेभने बाटो देख्दिन, बाटो ड्राइभरे मत्रै देख्छ । जस्तो पानी आएपनि वाटो देख्न मैले पर्दैन । शुलो हिलो केहि देखिदैन । जनताको जीवन कस्तो चलिरहेको छ भन्ने कुरा मैले भोगे भने मात्रै मैले जनताको समस्या समधान गर्न सक्छु जस्तो लाग्छ ।

अन्त्यमा केहि भन्न छुट्यो कि ?

वाँकी मेरो अगाडी दुइओटा चुनौती छ । एउटा चुनौती हो धेरै जनाले जागिरको अपेक्षा गर्नु, विवशलाई चुनाव जितायो भने जागिर पाईन्छ भन्ने धेरैको अपेक्षा छ । मेरो मुख्य उदेश्यमा यस्तो धेरै प्रेसर आएछ भने मैले चौकुनेलाई बनाउने जे टार्गेट लिएको छु, त्यो टार्गेटमा मलाई असर पर्न सक्छ । मुख्य काम भन्दा सहायक काममा मैले ध्यान दिनुपर्ने हुनसक्छ एउटा मलाई यो चुनौती छ । दोश्रो, यहाँ भन्दा अगाडी जनताले भ्रष्टाचारका धेरै कुरा उठाएका छन् । काम पटक्कै नभएको तर भुत्तःानी लिइसकिएका धेरै योजनाहरु देखिएका छन् । अब मैले यसलाई यस्तै छोडिदिउँ पालिकामा नजिर बस्ने खतरा छ । तपाई मात्रै आएर हामीलाई प्रेसर गर्ने, यसअघि कामै नगरेर पैसा दिइएको थियो भन्ने कुरा उठन सक्छ तसर्थ यसलाई छानविनको दायरामा ल्याउन मलाई चुनौती छ । कामै नगरि भुक्तानी लिइएका योजना, हातै नछोइकन भुक्तानी लिएको धेरै भेटियो । भ्रष्टाचार गरेको पाइएको छ । म के भन्न चाहन्छु भने त्यस्ता योजनाका बारेमा निकट भविष्यमा नै मैले कार्यपालिका सदस्यकै नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनाउँछु । त्यसको विस्तृत रिर्पोट सार्वजनिक गर्छु ।

तपाईको प्रतिक्रिया