भेरी–बबई डाइभर्सनको उपलब्धि ५६ प्रतिशत

सुर्खेत । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको भेरी–बबई डाइभर्सन आयोजनाको निर्माणको भौतिक प्रगति ५६ प्रतिशत भएको छ । समष्टिगत वित्तीय प्रगति भने ४१.१० भएको छ । आव २०७१/७२ सालबाट निर्माणकार्य आरम्भ भएको यस आयोजनाको आव २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर, कोरोना महामारीलाई कारण देखाएर यस आयोजनाको निर्माण सक्न अझै तीन वर्ष लाग्ने जनाइएको छ ।

कोभिड–१९ का कारण काम प्रभावित

कोभिड–१९ को असर, मौसमको प्रतिकुल अवस्था, वर्षा एवं नदीमा पानीकोबहाव बढेका कारण निर्माण प्रकृयामा असर परेको आयोजनाका सूचना अधिकारी एवं वरिष्ठ डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिए ।

सुवेदीले भने, ‘कोरोना महामारीको असर, प्रक्रियागत जटिलता आदिका कारण अघिल्लो समयमा हुनुपर्ने कार्यहरुको दायित्त्व पछिल्लो समयमा सर्दै आएको छ ।’ सुवेदीले थपे, ‘स्थानीय निर्वाचन २०७९ का कारण पनि निर्माणकार्यमा परेको छ ।’ पछिल्लो समयमा भइरहेको मौसमी प्रतिकूलताका कारणले पनि निर्माण कार्यमा ढिलाइ भएको उनको भनाइ छ ।

तीन चरणमा विभाजन गरेर काम

आगामी आर्थिक वर्षमा पनि यो आयोजनालाई तीन चरणमा विभाजन गरेर काम सम्पन्न गर्ने जनाइएको छ । हाल यस आयोजनाको पहिलो चरणअन्तर्गत टनेल निर्माण कार्य सम्पन्न भएको आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले जानकारी दिए ।

दोश्रो चरण अन्तर्गतको सिभिल संरचनाहरुको निर्माणकार्य भइरहेको छ । जसमा मुख्यतया बाँध, पावरहाउस निर्माण कार्य पर्दछन् । तेस्रो चरण अन्तर्गतको हाइड्रोमेकानिकल इलेक्ट्रोमेकानिकल सम्बन्धी निर्माण एवं जडान कार्यहरु पर्दछन्न् ।

आयोजनाको कार्य प्रगति हाइड्रोमेकानिकल निर्माण कार्य अन्तर्गत गेट तथा पेन स्टक पाइप निर्माण कार्य रहेको छ । यो कार्यको बोलपत्र आह्वानबाट प्राप्त बोलपत्रहरुको प्राविधिक मुल्यांकन गरी स्वीकृतिको लागि विभागमा पेश गरिएकोमा २०७६ वैशाख १३ गतेको विभागीय निर्णयअनुसार हाइड्रोमेकानिकल निर्माण कार्यको ठेक्का रद्द भएको थियो ।

तत्पश्चात पुन बोलपत्रमा आव्हान भए बमोजिम खरिद प्रक्रिया सम्पन्न गर्नका लागि अर्को निर्माण व्यवसायीसँग २०७८ मङ्सिर ७ गते दुई अर्ब १३ करोड ७४ लाखको लागतमा सम्झौता भएको मितिले तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको र निर्माण व्यवसायीले निर्माण तयारी गरिरहेको सुवेदीले बताए ।

त्यसैगरी इलेक्ट्रोमेकानिकल निर्माण कार्य अन्तर्गत टर्वाइन, जेनेरेटर स्विचयार्ड निर्माण कार्य भइरहेको छ । इलेक्ट्रोमेकानिकल सम्बन्धी निर्माण कार्यको लागि बोलपत्रमा आव्हान भए बमोजिम हाल प्राप्त बोलपत्रहरुको मूल्यांकन अन्तिम चरणमा छ ।

गत आ.ब २०७७/७८ मा उक्त दुवै कार्यको खरिद व्यवस्थापन कार्य सम्पन्न गर्ने लक्ष्य लिइएकोमा नेपाललगायत विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को दोश्रो लहरसमेतको महामारीका कारण प्रभावित भएको सूचना अधिकारी सुवेदीको भनाइ छ । गत आवमा दुवै कार्यको खरिद व्यवस्थापन कार्य सम्पन्न गर्ने लक्ष्य भएपनि कोभिड–१९ को दोस्रो लहरको कारण प्रभावित हुन पुगेको सुवेदीको भनाई रहेको छ ।

बर्दिया र बाँकेका जमिनमा १२ महिना सिँचाइ

आर्थिक वर्ष २०७९/८० सम्म भेरी नदीबाट ४० घनमिटर प्रति सेकेन्ड पानी बबई नदीमा स्थानान्तरण गर्ने तथा यसबाट ४६.८ मेघावाट बिजुली निकाल्नुका साथै बर्दिया र बाँके जिल्लाका करिब ५१ हजार हेक्टर जमिनमा १२ महिना सिँचाइ सुविधा उपलब्ध गराउनेछ ।

सुर्खेत, बर्दिया र बाँके जिल्लालाई समेटेर ऊर्जा, सिँचाइ र जलाधार संरक्षणलाई एकसाथ योगदान पु¥याउने लक्ष्यका साथ यस आयोजना शुरु गरिएको हो । यस आयोजनाबाट भेरी नदीको ४० घनमिटर प्रतिसेकेन्ड पानी ४.२ मिटर व्यास र १२.२ किलोमिटर लामो सुरूङबाट बबई नदीमा स्थानान्तरण गरी बाँके र बर्दिया जिल्लाको करिब ५१ हजार हेक्टर भूमिमा १२ महिना सिँचाइ सुविधा उपलब्ध हुने अपेक्षा गरिएको छ । साथै, नियमित रुपमा ४६.८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

यस आयोजना सम्पन्न भए पश्चात १२ महिना सिँचाइ उपलब्धताबाट कृषि उत्पादन बढ्न गई वार्षिक ३.१ अर्ब रूपियाँ अप्रत्यक्ष र विद्युत बापत ४.० अर्ब रूपियाँ प्रत्यक्ष गरी वार्षिक ७.१ अर्ब रूपियाँ फाइदा हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया