वीरेन्द्रनगरमा बर्डफ्लु भेटिएका पन्छी यसरी गरियो नष्ट (फोटो फिचर)

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ । केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि भएको हो ।

एक सय बढी टर्की मरेपछि परीक्षणका लागि नमूना काठमाडौं पठाइएको थियो । पशुपंक्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएपछि नष्ट गरिएको जानकारी दिए । बर्डफ्लु पुष्टि भएसंगै जिल्ला प्रशासन कार्यालयमा बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर फर्ममा रहेका टर्की, बाइलर कुखुरा र लोकल कुखुरालाई नष्ट गर्न निर्देशन दिएको थियो ।

पशुपंक्षी विकास निर्देशनालयका प्रमुख खड्काअनुसार पशु चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि पाँच सय मिटरसम्म क्षेत्रमा पालिएका पंक्षीलाई नष्ट गरिएको छ । बर्डफ्लु फैलिएको फर्ममा सानाठूला गरी करिब एक हजार दुई सय बाइलर कुखुराका चल्ला, ८० टर्की र लोकल कुखुराहरु डिस्पोजल टोलीले नष्ट गरेको खड्काले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताए । उनले भने, “आफूले पालेको पंक्षीमा शंकास्पद लक्षण देखिएमा उपभोग तथा बिक्री वितरण रोकेर पशु चिकित्सकलाई खबर गर्न आग्रह गरेका छौं ।”

तपाईको प्रतिक्रिया