काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्न सुरु गरेको छ । आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी असार १ देखि मतदाता नामावली संकलन गर्न सुरु गरेको हो ।
स्थानीय तहको निर्वाचनअघि मंसिरमा स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्दा पनि नाम छुटेको गुनासो आएपछि पुनः नामावली संकलन गर्न सुरु गरेको आयोगको भनाई छ । आयोगका अनुसार फोटोसहितको नामावली जिल्ला प्रशासन, इलाका प्रशासन र जिल्ला निर्वाचन कार्यालयमा भर्न सकिनेछ ।
यसपटक गृह जिल्ला बाहिर रहेकाहरूले पनि जुन जिल्लामा छन् त्यहीँबाट नामावली दर्ता गराउने व्यवस्था गरेको छ । साथै जुनसुकै जिल्लाबाट बसाई सराइको आधारमा नामावली सार्न सकिने आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए ।
नामावलीमा रहेको त्रुटि कसरी सच्याउने ?
त्रुटि सच्याउन नागरिकता, बसाइसराइ, विवाह दर्ताको प्रमाणपत्रलगायत आवश्यक कागजातका साथमा सम्बन्धित निर्वाचन कार्यालयमा गई तोकिएको अनुसूची फारम भर्नेछ ।
निर्वाचन आयोगका अनुसार एकै वडामा एकभन्दा बढी मतदान स्थल रहेको अवस्थामा आफूलाई पायक पर्ने मतदान स्थ मतदाता नामावली सार्नु परेमा मतदाता स्वयं सम्बन्धित निर्वाचन कार्यालयमा गई निवेदन दिनुपर्छ ।
के-के कागजात चाहिन्छ ?
नाम मतदाता नामावलीमा दर्ता गराउन नेपाली नागरिकताको सक्कल प्रमाणपत्र चाहिन्छ । नागरिकतामा उल्लेख भएको स्थायी ठेगानाभन्दा फरक ठेगानामा नाम समावेश गर्न चाहेमा विवाह भई आएकोमा विवाह दर्ता र नाम दर्ता गर्न चाहेको स्थानमा बसाई सरी आएकोमा बसाइसराइ प्रमाणपत्र चाहिने आयोगले स्पष्ट पारेको छ ।
नागरिकतामा उल्लेख भएको स्थायी ठेगानामा नाम समावेश गर्न चाहेमा नागरिकताबाहेक अन्य थप प्रमाण आवश्यक नपर्ने पनि आयोगले जनाएको छ ।
नेपालीरैबार । २०७९ असार १०, शुक्रबार