वीरेन्द्रनगरको नीति तथा कार्यक्रम : मंगलगढी र यरिचोकमा आकाशे पुलको निर्माण गरिने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार नगरपालिकाले ११ औं नगर सभा समक्ष नगर प्रमुख मोहनमाया ढकालले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उक्त नीति तथा कार्यक्रममा वीरेन्द्रनगरमा बढी सवारी चाप भएका स्थानहरू मंगलगढी र यरिचोकमा सम्भाव्यता अध्ययन गरि आकाशे पूलको निर्माण गरिने भएको छ ।

फाइल फोटो

यस्तै, नगरका फुटपाथ, साईकललेन, सवारी पार्किङ्ग, रोडमा लाइनिङ्ग, ट्राफिक लाइनिङ्गसमेतको डिजाईन गरि नमुना सडक निर्माण गर्ने कार्यको थालनी, उपत्यकाको खानेपानी समस्यालाई दीगो समाधान गर्न भेरीको पानी लिफ्टीङ्ग आयोजना अगाडि बढाउन संघिय सरकार, प्रदेश सरकार र विकास साझेदारहरु संगको सहकार्य र आर्थिक वर्षदेखि पहूँच मार्ग निर्माण लगायत अति आवश्यक पूर्वाधारका कार्यहरूको शुरूआत गरिने छ ।

यस्तै, नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ का लागि स्वीकृत कर दस्तुरलाई वृद्धि नगरी सोहि दरलाई नै निरन्तरता दिँदै करदाता र करको दायरा विस्तारको नीति तथा करका दरहरुमा आवश्यकता र औचित्यताको आधारमा छुटएवम् सहुलियत दिने नीति लिईने वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिका बनाउन आवश्यक पर्ने राजस्वलाई दृष्टिगत गरि रु २७ करोड संकलन गर्ने गरि योजना वनाई पूर्ण कार्यान्वयन गरिने नीतिमा उल्लेख गरिएको छ ।

नेपालको संविधान अन्तर्गत स्थानीय तहको अधिकार सुचीभित्र पर्ने सम्पत्ति कर, भूमीकर, घरजग्गा वहालकर, व्यापार व्यवसाय कर, जडीबुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरन्जन कर, वहाल विटौरी शुल्क, पार्किंङ शुल्क, विभिन्न सेवा शुल्क दस्तुर क्षेत्रलाई फराकिलो पार्दै कर एवं शुल्क तिरेको अनुभुति हुने गरि कर संकलन कार्यलाई निरन्तरता दिईनेछ ।

तपाईको प्रतिक्रिया