फिनल्यान्डकी प्रधानमन्त्री सान्ना सोसल डेमोक्र्याट पार्टीको अध्यक्षमा चयन

काठमाडौं । फिनल्यान्डकी प्रधानमन्त्री ३४ वर्षीया सान्ना मरिन सोसल डेमोक्र्याट पार्टीको अध्यक्षमा चयन हुनु भएको छ । फिनल्यान्डको इतिहासमै यति कम उमेरमा सत्तारुढ दलको नेतृत्व लिने उहाँ पहिलो महिला हुनुहुन्छ ।

फिनल्यान्डको सबैभन्दा ठूलो दल सोसल डेमोक्र्याट पार्टीको अधिवेशनले मरिनलाई पार्टी अध्यक्षमा निर्विरोध चयन गरेको हो । उक्त पार्टीमा महिलाले नेतृत्व सम्हालेको यो दोस्रो पटक हो । हाल पार्टी अध्यक्षमा एन्टी रिन्न रहनु भएको छ ।

उहाँले देशभित्रको राजनीतिक गतिरोधबीच गत वर्ष डिसेम्बरमा प्रधानमन्त्री पदबाट पनि राजीनामा दिनु भएको थियो । फिनल्यान्डमा निकै लोकप्रिय युवानेतृ मरिनले पार्टी नेतृत्वका लागि उम्मेदवारी दिनुभएको थियो, र उहाँको विपक्षमा कुनै पनि व्यक्तिले उम्मेदवारी दिएका थिएनन् ।

मरिनको आठ महिने सरकारको अधिकाँश समय कोरोना महामारीसँग जुध्दै ठीक्क भएको छ । उहाँले कोरोना नियन्त्रणमा गरेको सुझबुझपूर्ण कार्यलाई लिएर देशभित्र निकै प्रशंसा बटुल्नु भएको छ ।

फिनल्यान्डमा हालसम्म ३३४ जनाको मृत्यु भएको छ । सोसल डेमोक्र्याट पार्टीको फिनल्यान्डको दक्षिणी शहर टाम्परमा गतसाता अधिवेशन सम्पन्न भएको थियो ।

पार्टीले सन् २०१९ को चुनावमा करिब १८ प्रतिशत मत प्राप्त गरेर संसदमा सबैभन्दा ठूलो दल बनेको थियो । हाल यस पार्टीले अरु स(साना पाँच वटा पार्टीको समर्थनमा सरकार बनाएको छ ।

तपाईको प्रतिक्रिया