नयाँ संस्कृतिमा रम्दैँ राउटे समुदाय

दैलेख । फिरन्ते जिवन बिताउँदै आइरहेका राउटे समुदाय परिवर्तित समयसँगै आधुनिकता रमाउन थालेका छन् । पछिल्लो समय राउटे समुदायमा दिनहुँ जसो गैर–राउटेको उठबस र राउटेमा आएको खुकुलोपनले आधुनिकता तिर उन्मुख भएका हुन् ।

                     दैलेख र जाजरकोटजिल्लाको सिमाना सुयाडा जंगलमा रहेकाे राउटे बस्ती

विगतमा “पैसा छोए पाप लाग्छ” भन्ने राउटे आजभोली कसैले फोटो खिच्दा पैसा चाहिन्छ भनेर माग्ने गर्दछन् । राउटेसँग रहेर काम गर्ने गैरसकारी संघ संस्थाले उनीहरुसँग हेलमेल हुनका लागि मद्यपान र धुम्रपान दिन थालेपछि उनीहरुमा खुकुलोपन आएको हो । खसी र चामल पाएमा हुरुक हुने, र अरुले दिएको खानेकुरालाई उपहार ठान्ने यो समुदाय पछिल्लो पटक मध्यपान, धुम्रपानमा लत बसेको राउटे विरबहादुर शाहीले बताए ।

‘शूरुमा हामीलाई रमालो लाग्ने गाउँलेहरुले दिएको रक्सी आजभोली बानी नै परि सकेका छौं । रक्सी त रमाईलोको लागि खाने हो, कहिल्यै नमाझेका पहेँला दाँत देखाउदै विरबहादुर भने ।’ कसैलाई फोटो खिच्न नदिने, सित्तैमा अरुले दिएको खाने कुरा नखाने, बस्तीमा नचिनेको मान्छेलाई प्रवेश गर्नमा रोक लगाउने कार्य राउटे समुदायमा अहिले मद्यपान र धुम्रपानका कारण खुकुलो भई परम्परा ओझेलमा पर्दै गएकोमा राउटे महिनबहादुर शाही खुलासा गरे ।

‘हामीहरु गाउँका अरु मानिस जस्तो रक्सी खाएर झगडा गर्दनौ र रक्सी पनि बनाउदैनौ बरु गाउँबाट नै किनेर खान्छौ । रक्सी सेवन गरि बगालामा झगडा गर्ने व्यक्तिलाई राउटे समुदायका अन्य युवा मिलि हातखुटामा डोरीले बाँधेर लडाई दिने गरेको छौ ।’ महिनबहादुरले भने ।

घरमा अन्नको जाँड बनाउने तर रक्सीको सेवन गरे पनि नबनाउने गरेको र बनाएमा देवी देवता रिसाएर सिकार बिग्रिने मानिस बिरामी पर्ने विश्वास यो समुदायमा छ । आफ्नो परम्परालाई निरन्तरता दिँदै आइरहेका राउटे समुदाय पछिल्लो समयमा आधुनिकता तिर भन्दा पनि बिग्रदो सँस्कृतिको पछि लागेको स्थानिय जानकारहरुको बुझाई रहेको छ ।

‘नेपाल सरकारले लोपोन्मुख जातीलाई प्रदान गर्दै आएको सामाजिक सुरक्षाको भत्ता पाउँनासाथ राउटेले मदिरा पिउने गर्छन् । आजकाल तन्नेरी मान्दैन् पैसा पाउनासाथ रक्सी खोजी गर्छन्, पिउन गईहाल्छन् ।’ मुखिया सुर्यनारायण शाहीले भने ।

विधुवा महिला बाहेक अन्य राउटे महिला कोशी बेच्न गाउँघरमा नजाने परम्परा छ । पुरुषहरु मात्र काठका मधुस, कोशी, खाट बनाएर अन्नसँग साट्ने गर्थे । मानिसको जनसँख्या वृद्धिसँगै वन दिनप्रतिदिन फडानी हुँदै गएपछि र समुदायमा हस्तान्तरण गरिएकाले राउटेको पेशा संकटमा परेको हो ।

नेपालका सम्पदा र कर्णाली प्रदेशको गहनाका रुपमा चिनिने यो समुदायका राउटे महिला पनि आधुनिकतासँगै शहरका ठुल–ठुला होटलमा समेत नास्ता, खाना सजिलैसँग लिने गरेका छन् । यो समुदाय आजभोली दैलेख र जाजरकोटको सिमाना सुयाडा जंगलमा बसोबास गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया