करोडको ठेक्का हात पारेर श्री विल्डर्सका निर्माण व्यवसायी फरार

निर्माण व्यवसायी भन्छन्, ‘महंगीले काम गर्न मुश्कील भो’

सुर्खेत । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानीको शहर हो । बढ्दो सवारी चाप र जनघनत्वले यहाँको व्यवस्थापनमा चुनौती थपिएको शहर पनि वीरेन्द्रनगर हो । खानेपानी अभाव, सडक पूर्वाधार विकासमा पनि कमजोर शहर वीरेन्द्रनगर नै हो । वीरेन्द्रनगरको धुलियाविटदेखी बाँगशीमलसम्म फोरलेन सडक निर्माण गरिएको केही वर्ष मात्रै वितेको छ । तर यहीँ सडकको दुवैतर्फ शुरुमै नाली निर्माण नगर्दा वर्षातमा उत्तरी क्षेत्रबाट फोरलेनमा पुग्ने ढलका कारण सडक जलमग्न हुँदा नागरिकहरुले सास्ती व्यहोर्नु परेको छ ।

उद्यपी यरिचौकदेखी पश्चिममा पर्ने शान्ति स्टोरबाट कुमाइ चौकसम्मको ढल निकाशका लागि सडक डिभिजन कार्यालयले ठेक्का आह्वान गरेको हो । ठेक्का पाएका नेपालगञ्जका निर्माण व्यवसायी विजयी खत्री नाला निर्माणका लागि धराप स्वरुप ज्यानमारा खाल्डा खनेर फरार भएका छन् । सडक डिभिजन कार्यालय सुर्खेतले एक करोड ४५ लाख लागतमा निर्माण गर्नेगरी खत्री सञ्चालक रहेको श्री विल्डर्ससँग गत बैशाख १४ गते सम्झौता गरेको हो । नाला निर्माणको लागि शुरुवाती जमिनमा फाउण्डेशन तयार गरेर निर्माणमा चासो नदिएर खत्री फरार भएका हुन् ।

सम्झौतामा खत्रीले असारमा नाला निर्माण गरिसक्नु पर्ने उल्लेख छ । तर नाला निर्माणका लागि कार्यालयले बारम्बार ताकेता गर्दा समेत उनी सम्पर्कमा नआउँदा पत्र नै काटेको छ । ‘बर्खाको समयमा यसरी नाला खनेर अलपत्र पार्दा नागरिक र व्यवसायीहरुलाई सास्ती बनाएको,’ व्यवसायी बाशुदेव शर्माले भने, ‘निर्माण काम समयमै सकेको भए नागरिक र व्यापार गर्ने व्यावसायीहरुलाई सहज हुनेथियो ।,’ शर्माकाअनुसार नालाका काम नगरेर अलपत्र छाडेपछि व्यावसायीहरुलाई समान लोड र अनलोड गर्न समस्या भएको छ । समयमै काम सम्पन्न नभए वर्षातमा पानी भरिदा नालामा स्कुले बालबालिका खस्ने जोखिम पनि उत्तिकै रहेको उनी बताउँछन् ।

सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी सजना पोखरेलले असारमा सक्नु पर्ने एक किलोमिटर नाला अनावश्यक खनेर सम्पर्कमै नआएको नेपालीरैबारकर्मीलाई जानकारी दिइन् । ‘असार मसान्तसम्म सकिसक्नु पर्ने काम हो,’ पोखरेलले भनिन्, ‘बारम्बार निर्माण व्यवसायीलाई ताकेता गर्दा पनि कार्यालयको सम्पर्कमा आउनु भएको छैन् ।’ भारी वर्षा भएको बखत त्यो क्षेत्रमा पानी भरिने भएकै कारण सहज निकाशका लागि नालाको काम शुरु गरिएपनि निर्माण व्यवसायी सम्पर्कविहिन भएको उनी बताउँछिन् ।

महंगीले काम गर्न मुश्कील भो : खत्री
नाला निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी विजय खत्रीले महंगीका कारण समान जुटाउन नसकेको प्रतिक्रिया दिएका छन् । ‘फाउण्डेशनको काम सकेर नालाको जग बसालिएको छ,’ खत्रीले प्रश्न गरे, ‘सम्झौता गर्दाको लागत र अहिलेको बजार मूल्य छोइसक्नु छैन्, बैंकले ऋण पत्याइदिँदैनन् रकमविना कसरी काम गर्नु ।’ तर खत्रीले नाला निर्माणको काम कहिलेसम्म सक्नुहुन्छ भन्ने प्रश्नमा तत्कालै सम्भव नभएको गैरजिम्मेवारी जवाफ दिए ।

तपाईको प्रतिक्रिया