मोजा, पेन्टी, गञ्जी र ब्रा पनि तनावको कारक

डा. रामदेव पण्डित  । शरीर ढाक्नलाई कपडा लगाइन्छ । पहिले पहिले शरीर ढाक्नलाई सहज र सफा लुगा भए पुग्थ्यो । विस्तारै मानिसलाई त्यतिले मात्र पुगेन कपडा लगाएपछि राम्रो पनि देखिनुपर्छ भन्ने भयो । मानिसको सोच परिवर्तन हुँदै गयो। जब शरीरलाई सुन्दर देखाउन वा अरुलाई आकर्षित गर्न कपडा लगाउन थालियो तब त्यहाँ सहजता कमै मतलवको विषय हुनथाल्यो ।

हामीले लगाउने लुगाहरू मोजा, पेन्टी, गञ्जी, ब्रा आदि प्राय:ले लगाउने भित्रि पहिरन हुन् । जुन शरीरको छालाको प्रत्यक्ष सम्पर्कमा रहन्छन् । यी भित्री पहिरनहरू छालाको स्वास्थ्य र मानसिक स्वास्थका दृष्टिले निकै संवेदनशील हुन्छन् तर प्राय:ले यसबारे ध्यान पुर्‍याएका हुँदैनन् । भित्री पहिरन अरुले देख्ने होइनन् भनेर जस्तो सुकै भए पनि चल्छ भन्ने मनोविज्ञान विकास भएको छ । यो मनोविज्ञान नै गलत छ ।

शरीरलाई स्लिम, फिट र अग्लो आदि देखाउन पनि भित्री पहिरन लगाइन्छ । केही भित्री पहिरन छाती र कम्मर कस्सिएको एवं आकर्षक देखाउन पनि लगाइन्छ । यस्तो उद्देश्य भएको अवस्थामा सहजतालाई खासै ख्याल गरिएको हुँदैन ।

कस्सिने गञ्जीले छाति सुडोल त देखिन्छ तर छातीमा दबाब सिर्जना भइरहेको हुन्छ । कस्सिएको ब्राले स्तन कस्सिएको त देखिन्छ तर त्यसले छातीमा दबाब परिरहन्छ । त्यो दबाब छातीमा मात्र होइन मनमा पनि पर्ने भएकाले प्रभाव विस्तार भइरहेको हुन्छ । त्यस्तै गह्नाउने मोजाले काम त चल्छ तर पैतालालाई असहजता भइरहेको हुन्छ ।

यसले पहिरिने मानिसको मनमा हिनताबोध भइरहेको हुन्छ । फाटेको गञ्जीले काम त चल्छ तर आफूलाई हिनताबोध हुन छाडेको हुँदैन । जसले गर्दा आत्मविश्वास कमजोर हुन्छ । काममा एकाग्रता कायम गर्न सकिँदैन ।

भित्री लुगाहरूले जब शरीरलाई असहज हुन्छ त्यसपछि विस्तारै विस्तारै मनको शान्ति र एकाग्रता भङ्ग हुन थाल्छ । फलस्वरूप शरीर र मनमा तनाव उत्पन्न हुन्छ । अरुले देख्ने होइनन् भन्ने सोच भएका व्यक्तिहरूले शरीरमा सहज नभएका भित्री पहिरन प्रयोग गर्छन् । काम चलाउन कतिले फाटेको, मैलो, थोत्रो, छोटो, धेरै ठूलो, गह्नाउने भित्री पहिरन प्रयोग गरिरहेका हुन्छन् ।

फाटेको, मैलो, थोत्रा पहिरन अरुले त देख्दैनन् तर आफूले देखी देखी जानिबुझी लगाएको हुँदा आफैंलाई भित्री पहिरन ठीक छैन भन्ने लागिरहेको हुन्छ । ठीक नभएको विचार पटक पटक मनमा आइरहन्छ जसले गर्दा स्वयंलाई एक प्रकारको हिनताबोध भइरहेको हुन्छ । फलत: छालाको स्वास्थ्य बिग्रिनुका साथै आत्मविश्वास कमजोर हुने र मनमा तनाव उत्पन्न हुने गर्दछ ।

भित्री पहिरन छालाको स्वास्थ्यका लागि संवेदनशील हुन्छ । त्यसभन्दा महत्वपूर्ण ती पहिरनको सम्बन्ध मनको शान्ति र एकाग्रतासँग पनि गाँसिएको हुन्छ । अमेरिकन एशोसिएसन फर क्यान्सर रिसर्चको जर्नल ‘क्यान्सर इपिडिमियोलोजी, बायोमार्कर एण्ड प्रिभेन्सन’मा सन् २०१४ मा प्रकाशित एक रिपोर्ट अनुसार टाइट ब्रा लगाउँदा स्तनमा रक्तसञ्चार अवरोध हुन्छ, त्यसले स्तनमा हुने लिम्फको रक्त सञ्चारमा पनि अवरोध गर्दछ ।

१२ घन्टा भन्दा बढी लगातार टाइट ब्रा लगाउँदा स्तनमा अक्सिजन र पोषणको आपूर्ति घट्छ साथै स्तनका कोषहरूमा बनेको मल पदार्थ (टक्सिन)को सफाइ पनि हुन पाउँदैन । छाती र पिठ्युँको छालामा डाम पनि बस्छ । यसका अतिरिक्त अन्य अध्ययनहरूले पनि टाइट ब्रा लगाउने महिलाहरूमा कम्मर र ढाड दुख्ने (ब्याक पेन), काँध (सोल्जर पेन) दुख्ने। छातीमा जलन हुने लगायतका समस्या हुने गरेको देखाएको छ ।

कुनै पनि सर्तमा एक जनाले लगाएको भित्री पहिरन अर्को व्यक्तिले नलगाउनु छाला एवं समग्र स्वास्थको दृष्टिकोणले हितकारी मानिन्छ । किनभने कसको छालामा के रोग वा एलर्जी छ त्यो थाहा हुँदैन र भित्री पहिरन साझा गरेर लगाउँदा त्यो समस्या सजिलै अर्को व्यक्तिमा सर्ने सम्भावना रहन्छ । कुनै पनि भित्र पहिरन लगातार १२ घण्टाभन्दा बढी नलगाएको स्वास्थको दृष्टिले राम्रो मानिन्छ । एक पटक किनेका सबैखाले भित्री पहिरन ६ देखि ९ महिनाभन्दा बढी नलगाएकै राम्रो हुन्छ । एकवर्षपछि त त्यसलाई फाल्नु नै राम्रो मानिन्छ ।

सामान्यत: सबै महिला तथा पुरुषले पेन्टी, समिज, गञ्जी, मोजा लगायतका भित्री वस्त्र लगाइरहेका हुन्छन् । अत: यसको प्रयोग भने सचेत रूपमा गर्नुपर्छ । प्रत्येक दिन यी पहिरन फेर्नुपर्छ। यी पहिरन २–३ दिनसम्म पनि एउटै लगाइरहे पसिनाको सम्पर्कमा आएर त्यहाँ संक्रमण हुनसक्छ । त्यसरी संक्रमण भएपछि छालासम्बद्ध रोग लाग्ने सम्भावना बढ्छ । छालासम्बन्धी रोगहरू निकै गम्भीर प्रकृतिका पनि हुने गर्दछन् ।

टाइट पेन्टी लगाउँदा गुप्त अङ्ग (प्राइभेट पार्टस) हरूमा हावा छिर्न पाउँदैन र त्यहाँ भित्रको अंग एवं छाला पसिनाले भिज्दछ । लामो समयसम्म पसिनाले छालाको सतह ओसिलो भइराख्यो भने त्यसले काछ वा भित्री अङ्गहरूमा संक्रमण हुनसक्छ, चिलाउँछ, रातो हुन्छ । त्यहाँ भित्रको छालाको रङ खुइलिन्छ, छालामा पोल्न थाल्छ । कस्सिएको गञ्जी लगाउँदा छाती र पिठ्युँको छालामा डाम बस्छ । फोक्सोलाई स्वभाविक एवं स्वतन्त्र रूपमा सास लिन समेत मुस्किल हुन सक्छ, जसले अन्तत: मानसिक तनाव निम्त्याउँछ ।

हामीले लगाउने भित्री पहिरन कुन सामग्रीबाट बनेको छ त्यो विषय पनि स्वास्थ्यका लागि धेरै महत्त्वपूर्ण हुन्छ । भित्री पहिरन किन्दा यस विषयलाई सबैले सचेत भएर विचार गर्नुपर्छ । सामान्यत भित्री पहिरन कपडा, भेल्भेट, सिल्क, छाला (लेदर), रबर, कर्क, सिन्थेटिक, फोम, प्लास्टिक, नाइलन, पेट्रोकेमिकल उत्पादनहरू आदिले बन्ने गर्दछन् ।

यी सबै कच्चा सामग्रीहरूको आ-आफ्नै विशेषता एवं कमजोरीहरू हुन्छन् । क्षमता, आवश्यकता र सहजता अनुसार आफूलाई मनपर्ने सामग्रीको भित्री पहिरन लगाउने गरिन्छ तर एउटै प्रकारको वा सामग्रीको चप्पल-जुत्ताको प्रयोग गर्नु भन्दा फरक फरक सामग्रीको फरक फरक आकार प्रकारको चप्पल-जुत्ताको प्रयोग गर्नु स्वस्थकर मानिन्छ ।

अन्य सामग्रीबाट भन्दा प्लास्टिकबाट बनेका भित्री पहिरन सस्ता हुन्छन् र आकर्षक पनि देखिन्छन् । अत: हिजोआज प्लास्टिकबाट बनेका भित्री पहिरनको प्रयोगकर्ताको संख्या निकै बढिरहेको छ । जुन मानव स्वास्थको लागि स्वस्थकर मानिँदैन । भित्री कपडाले हुने असहजताले मानसिक एकाग्रता बिग्रिन्छ जसले गर्दा कार्यक्षेत्रमा दैनिक उत्पादकत्व पनि घट्छ ।

थुप्रैले गह्नाउने मोजामा पाउडर वा सेन्ट हालेर धेरै दिनसम्म प्रयोग गरिरहेका हुन्छन् । यो एउटा बानी हो तर यसरी प्रयोग गरिनु स्वास्थ्यका लागि हितकर हुँदैन, छैन । यसरी प्रयोग गरिने मोजाले पैतालाको खुट्टा र छालामा धेरै खालका संक्रमण निम्त्याउन सक्छ । मैलो मोजाको छिद्रहरू बन्द भएको हुन्छ जसले गर्दा हावाको सञ्चार मोजा भित्रको अङ्गहरूमा हुन पाउँदैन ।

सेन्ट छर्केर धेरै दिनसम्म गञ्जी र पेन्टी लगाउनु पनि गलत हो । पाउडर र सेन्ट हालेर अरुलाई त झुक्याउन सकिन्छ तर आफूलाई कसरी झुक्याउने ? त्यसैले असहज भित्री कपडा धेरैजनामा आत्मविश्वास घटाउने र तनाव सिर्जना गर्ने कारण बनिरहेको छ ।

आरामदायक (कम्फर्टटेवल) मोजा, पेन्टी, गञ्जी र ब्राले पनि मान्छेमा स्वभिमान र आत्मविश्वास बढाउन सघाइरहेको हुन्छ । व्यक्तिलाई सहजता, एकाग्रता र शान्ति कायम गर्न पनि मदत पुर्‍याउँछ । रोजाइ आआफ्नो हो- सहज भित्री कपडा लगाउने कि असहज ? हुँदा छँदाको कार्यक्षमता र उत्पादकत्व किन घटाउने ? हुँदै नभएको मानसिक तनाव किन उत्पादन गर्ने ? सहज लाग्ने, सजिला भित्री कपडा खोजी गरौं, शान्त होऔं, तनाव कम गरौं । -स्राेतः INS

लेखक पण्डित आयुर्वेद चिकित्सक हुन् ।

तपाईको प्रतिक्रिया