कर्णाली करिडोर नखुल्दा महंगी बढ्यो, १७ सयको चामल २७ सयमा बिक्रि

यात्रुलाई सास्ती, सामान ढुवानीमा खच्चड र मान्छे प्रयोग

कालिकोट । महिना दिन वित्नलाग्दा पनि अवरद्ध कर्णाली करिडोर नखुल्दा यात्रुलाई सास्ती भएको छ । भने करिडोर क्षेत्रमा खाद्य तथा दैनिक उपभोग्य सामानको महंगी बढेको छ ।

स्थानीयले अवरद्ध करिडोर क्षेत्रबाट गाउँसम्म सामान ढुवानी गर्न खच्चड प्रयोग गर्न थालेका छन् । गत असार १४ गते राती परेको अविरल वर्षाका कारण करिडोर अवरुद्ध भएको थियो ।

तर अझैसम्म सडकको पहिरो नहटाउँदा यातायात सेवा सुचारु हुन सकेको छैन । भने बाटोमा हिड्ने यात्रुले सास्ती खेप्नु परेको छ । करिडोर सडक मार्ग हुदै कालिकोट जिल्लाका चार वटा स्थानीय तह तथा बाजुरा, मुगु र हुम्ला जाने यात्रुलाई सकस भएको हो ।

सडक अवरुद्ध भएपछि यहाँका स्थानीयले घोडा, खच्चड तथा मान्छेको सहयोगबाट महंगोमा अत्यावश्यक सामान ढुवानी गर्नुपरेको छ । अप्ठेरो बाटोमा खच्चड र मान्छेको प्रयोगबाट समान ढुवानी गर्दा महंगी बढेको व्यापारी जय फडेराले बताए । करिडोर बन्द हुदाँ आफुहरुले महंगोमा सामान खरिद गर्नुपर्ने भएकाले महंगोमै बेच्न बाध्य भएको उनको भनाइ छ ।

कोरोना कहरसँगै महिनौ दिन गाडी बन्द हुदाँ महंगी बढेको हो । अहिले यहाँ १७ सयको चामल २७ सयसम्ममा बिक्रि हुन्छ । करिडोरमा लामो समय गाडी चलाउँदै आएका चालक महेश न्यौपानेले बढ्दो महंगीका बेला बेरोजगार बस्नुपर्दा पेट पाल्न गाह्रो भएको बताए ।

उनका अनुसार पहिले १७ सय बराबर मुल्य पर्ने चामलको प्याक अहिले २७ सय मुल्यसम्म पुगेको छ । व्यापारी देबराज बमले ढुवानी खर्चका कारण पहिले १७ सयमा बेच्ने चामल अहिले २७ सयमा बेच्दा पनि अपुग भएको बताए । चामलको मुल्य भन्दा ढुवानी भाडा बढी पर्ने भएकाले महंगो भएको उनको भनाइ छ ।

अवरुद्ध करिडोरका कारण यहाँका नागरिकलाई महंगीले ढाड सेक्दा पनि स्थानीय प्रशासन तथा जनप्रतिनिधि बेखबर छन् । समयमै अवरुद्ध सडक सुचारुका लागि सम्बन्धित निकायको ध्यान गएको छैन । नेपाली सेनाले ठेक्का लिएको यो सडकको पहिरो नत नेपाली सेनाले हटाएको छ । नत स्थानीय तहले नै चासो दिएका छन् । त्यसको प्रत्यक्ष मारमा यहाँका कमाई खाने वर्ग परेका छन् ।

तपाईको प्रतिक्रिया