सुर्खेत । सडक ट्र्याक खोलिएको करिव ३० वर्षपछि पश्चिम सुर्खेतको बड्डीचौर–विद्यापुर–वेनीघाट सडक कालोपत्रेको काम शुरु गरिएको छ । मदन भण्डारी राजमार्ग नामाकरण गरिएको यो सडकको पहिलो खण्डअन्तरगत वड्डीचौरदेखी कालोपत्रे गर्न आज शिलान्यास गरिएको हो ।
कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बड्डीचौरमा सडक कालोपत्रेका लागि शिलान्यास गरेका छन् । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री बुढाक्षेत्रीले वर्षौदेखी कच्ची र सडकमा खाल्डा बन्दा आवतजावतमा समस्या भोग्दै आएका नागरिकहरुलाई राहत हुने विश्वास व्यक्त गरे ।
‘स्थायी नेकपाको सरकारले काम गर्न सकेन्, डीपीआरको बेला तमझमका साथ शिलान्यास ग¥यो । निर्माणका लागि चासो देखाएन्,’ मन्त्री बुढाक्षेत्रीले भने, ‘गठबन्धनको सरकारले पश्चिमका नागरिकहरुलाई सहज आवतजावतका लागि सडक कालोपत्रे गर्न प्रदेशबाट बजेट विनियोजन गरेर कामको शुभराम्भ गरेका छौं ।’ मन्त्री बुढाक्षेत्रीकाअनुसार सडक निर्माणका क्रममा निर्माण व्यवसायीलाई साथ दिएर समयमै काम सम्पन्न गर्न आग्रह गरे ।
सडक निर्माणका क्रममा देखिने समस्याहरु समाधान गर्नमा गाउँपालिका प्रतिवद्ध रहेको बराताल गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले बताए । पहिलो खण्डमा निर्माण भइरहेको सडकको धेरै भाग गाउँपालिका भित्र पर्ने भएकाले यसमा देखिने समस्याहरु समाधान गर्न आफू कटिवद्ध रहेको भण्डारीले जानकारी दिए ।
वड्डीचौरलाई शून्य विन्दु मानेर दुई वर्षअघि नै यो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) गरिएको थियो । तर संघ सरकारले सडक निर्माणमा चासो नदेखाएपछि कर्णाली प्रदेश सरकारले पश्चिम नागरिकलाई सहज यात्राका लागि सडक कालोपत्रे गर्न अपनत्व लिएको हो । पहिलो चरणमा बड्डीचौर–खम्बगाडे सडक कालोपत्रे गरिनेछ ।
त्यसका लागि ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेले सम्झौता गरेको छ । पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जेभीसँग असार १४ गते सम्झौता गरेको हो । आगामी २०८१ असार २४ गतेसम्म सडक कालोपत्रे गरिसक्नुपर्नेछ । पूर्वको झापादेखि पश्चिमको डडेलधुरासम्म जोडिने राष्ट्रिय राजमार्गअन्तर्गत सुर्खेतका काल्चे, मालारानी, बेनिघाटको २ सय ३२ किलोमिटर सडकलाई पर्दछ । सडक २०५१ सालमा ट्रयाक खोलिएको हो ।
https://www.facebook.com/su.kkb/videos/422344606612450
नेपालीरैबार । २०७९ श्रावण ५, बिहीबार