सुर्खेत । कर्णाली राजमार्ग व्यस्त सडक हो । यहीँ सडक भएर दैनिक सयौं बढी सार्वजनिक सवारी ओहोरदोहार गर्छन् । सार्वजनिक मात्रै हैनन् सरकारी र नीजि सवारीहरु पनि बढी गुड्ने राजमार्ग पनि कर्णाली नै हो । त्यहीँ राजमार्गको एक किनारामा थिए ८६ वर्षीय वृद्ध । उनी शारीरिक रुपमा अशक्त हुन् ।
सन्दर्भ कर्णाली राजमार्गको बड्डीचौरको हो । जुन बराहताल गाउँपालिकाको केन्द्र भएको स्थान पनि हो । बिहीबार विहान कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा(क्षेत्री) बड्डीचौर पुगेका थिए । बड्डीचौरहुँदै लगाम वेनिघाट जोड्ने मदन भण्डारी राजमार्गको पहिलो खण्डको सडक कालोपत्रे शिलान्यासका लागि मन्त्री बुढा(क्षेत्री) बड्डीचौर पुगेका हुन् ।
उनले निर्धारित समयमै सडक शिलान्यासको कार्यक्रम सकेर वीरेन्द्रनगर फर्किदै थिए । सोही सडकको किनारामा थिए, बराहताल-२ रानीघाट बस्ने ८६ वर्षीय तिर्थ राना । उनी रानिघाटबाट गाउँपालिका उपचार खर्च पाइन्छ की भनेर बड्डीचौर पुगेका थिए । तर, उनी घण्टौंदेखि सडकको किनारामा बसेर गाडी रोकाउथे तर, अशक्त वृद्धको त्यो आवाज गाडीवाला कसैले सुनिदिएनन्, बुझिदिएनन् र गाडी रोकिदिएनन् ।
हरेक सार्वजनिक सवारीमा महिला, अशक्त र वृद्धहरुका लागि प्रस्टै गाडीमा सिट राखिएको हुन्छ । तर गाडीवालाको नजर ति अशक्तहरुमाथि पर्दैन भन्ने एक उदाहरण थिए राना । प्रचण्ड गर्मीमा उनलाई घामको प्रवाह थिएन् । बेलैमा वीरेन्द्रनगर पुगेर औषधोपचार गरेर रानीघाट फर्किनु थियो ।
एक हातमा लठ्ठी र अर्को हातमा झोला बोकेका उनी गाउँपालिकातर्फ जाने सडकको पूर्वतर्फ उभिएका थिए । वीरेन्द्रनगर फर्किदै गरेका मन्त्री बुढाक्षेत्रीको गाडीलाई रानाले रोक्न हात उठाए । मन्त्री बुढाक्षेत्रीले पनि गाडी रोक्न लगाए । मन्त्रीका सुरक्षार्थ खटिएका लालबहादुर बुढाले रानालाई गाडीमा चढाए ।
मन्त्री बुढाक्षेत्रीको गाडीमा चढेका रानाले मन्त्रीलाई चिन्न सकेनन् । तर, मन्त्रीले आफ्नो परिचय भनेपछि रानाले चिने । मन्त्रीले गाडीमा बसेका रानालाई बड्डीचौर पुग्नुको कारण सोध्दा रानाले भने, ‘बुढेसकाल लाग्यो, रोगी भए अध्यक्ष (बराहताल गाउँपालिका अध्यक्ष भीमबहादुर भण्डारी) लाई औषधी उपचारका लागि खर्च जुटाइदिन्छ की भनेर आएको हुँ । भेट हुनै सकेन् अनि फर्किन लागे गाडी रोकिएनन् तपाइँले ल्याइदिनुभयो धन्यवाद ।’
बराहताल गाउँपालिकाका अध्यक्ष भण्डारीलाई भेट्न बिहीबार विहानै उनी रानिघाटबाट अटो चढेर गिरीघाट पुगे । त्यसपछि उनी जीपमा चढेर गाउँपालिकामा सहयोग माग्न बड्डीचौर गएका हुन् । अध्यक्ष भण्डारी भेरी नदीमा बेपत्ता भएकाको शव भेटिएपछि अन्तिम संस्कारका लागि गाउँपालिकाको वडा नम्बर २ पाग्मा पुगेका थिए ।
‘अध्यक्ष आउन ढिला हुन्छ भने, उसो भए वीरेन्द्रनगर पुगेर मेडिकलमा उपचार गराएर रानीघाट फर्कन्छु भनेर गाडी कुरिरहेको थिए,’ रानाले भने, ‘शरीरको ताकत सकियो, चक्कर लाग्ने, टाउको दुख्ने, आँखा नि कम देख्छु र कान पनि कम सुन्छु । अध्यक्षले अलि रकम दिएको भए उपचार गराएर फर्कन्छु भनेर घरबाट निस्केको हुँ ।’
राना नेपाली काँग्रेसको संस्थापनकालदेखिका पूराना नेता समेत हुन् । नेपाली राजनीतिक ईतिहासमा जहानिय राणा शासनको अन्त्य गरेर प्रजातन्त्र स्थापनामा कांग्रेसको भुमिका ठुलो रहेको विगत सम्झाए । रानाले आफू २००६ सालमा स्थापना भएको कांग्रेसका सक्रिय कार्यकर्ता भएको बताए । ‘२००७ सालको प्रजान्तन्त्र स्थापनाका लागि कांग्रेस आन्दोलनमा होमिदा म पनि सहभागी भएको हुँ,’ विगतबारे रानाले भने, ‘विपि कोइरालाले अवलम्बन गरेको सिद्धान्त बुझेपछि विद्यार्थी संगठनबाट कांग्रेस प्रवेश गरेको हुँ ।’
कक्षा ८ सम्मको औपचारिक शिक्षा लिएका रानाले करिव १० वर्ष स्थानीय विद्यालयमा पढाएका थिए । विपिका सिद्धान्त अध्ययन गरेका राना २०१५ सालमा तत्कालिन नेपाली कांग्रेसको शिक्षक संगठनमा आवद्ध भएका थिए । राजनीतिक जीवनमा पार्टीको कुनै जिम्मेवार पदमा राना कहिल्यै बसेनन् ।
‘मलाई कहिल्यै पदको लोभ भएन,’ कांग्रेस पार्टीबारे कुरा खोलेका रानाले भने, ‘राणाकालमा छोराछोरीले पढ्नु हुँदैन भन्थे । तर, विपिले जनताका छोराछोरीले पनि पढ्न पाउनु पर्छ भन्नु भएको रहेछ । यही कुरा मलाई राम्रो लागेर म कांग्रेस भएको हुँ ।’ जीवनको उत्तरार्धमा आइपुगेका राना आफ्नो उपचारका लागि रकम जुटाउन अशक्त शरिर लिएर भौतारि रहेका छन् । २०१७ सालको आन्दोलनमा खुट्टामा लागेको गम्भिर चोटले रानालाई उभिएर हिड्न समस्या छ ।
न्युन आय भएका रानाको परिवारको आम्दानीको स्रोत नै कृषि पेशा हो । ऊर्जावान समय पार्टीमा ज्यानै दिन तयार रहेका राना अहिले ओझेलमा छन् । उपचारका लागि कयौँ ठाउँ पुगे, पार्टीका नेतृत्वलाई सहयोग गरिदिन आग्रह गरे तर सहयोग कहीँ कतैबाट नपाएको गुनासो रानाले सुनाए ।
रानाले जीवन भोगेका व्यथा सुन्दासुन्दै उनले प्रयाः चेकजाँच गर्ने वीरेन्द्रनगरस्थित राना मेडिकल आइपुग्यो । उनले भने, ‘यहीँ मेडिकलको औषधीलाई मलाई बचाएको छ । आज उपचार सके भने रानीघाट फर्किन्छु । ढिला भए यहीँ आफन्तहरु छन् । त्यहीँ बसेर विहानै घर फिर्नु पर्ला, यहाँसम्म ल्याइदिनुभयो फेरि पनि धन्यवाद ।’
रानाका विषयमा जानकारी गराइदिँदा बराहताल गाउँपालिका अध्यक्ष भण्डारीलाई भने, ‘जनताले जिताएको जनप्रतिनिधि भएकोले बाहिर रहँदा आज भेट भएन् । उहाँलाई पालिकाबाट गर्न मिल्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ एक छोरा र एक छोरी रहेका राना रानीघाट प्रहरी चौकी नजिकै रहेको घरमा श्रीमतीसँगै बस्दै आएका छन् ।
सुशील खड्का । २०७९ श्रावण ५, बिहीबार