स्वास्थ्य तालिम केन्द्र पुनर्स्थापनाको माग

सुर्खेत । प्रदेश स्वास्थ्य तालिम केन्द्रको पुनर्स्थापनाको माग गर्दै सामाजिक विकास मन्त्री दल रावललाई ज्ञापनपत्र बुझाइएको छ । स्वास्थ्य प्रवद्धन तथा शिक्षा संघ नेपालले तालिम केन्द्रको पुनर्स्थापनाको माग गर्दै बिहीबार मन्त्री रावललाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।


स्वास्थ्य सेवाको प्रदेशस्तरको स्वास्थ्य तालिम केन्द्रलाई अन्य सेवाको तालिम केन्द्रहरुसंग एकीकृत गर्नु गलत भएको भन्दै ज्ञापनपत्र बुझाइएको संघका अध्यक्ष बद्रीबहादुर खड्काले जानकारी दिए ।

उनले मानव संसाधन विकास केन्द्र बनाएको र भएको दरबन्दी समेत कटौती गरी अस्तित्व नै निमिट्यान्न परेकोमो पेशागत संगठनको गम्भीर ध्यानाकर्षण भएको बताए ।

२०७६ भदौ ६ गते प्रदेशको मन्त्रीपरिषद् बैठकले स्वास्थ्य तालिम केन्द्रलाई मानव संसाधन विकास केन्द्रमा मर्ज गरेको थियो । तर एकै ठाउँमा तालिम केन्द्र मर्ज गर्दा चिकित्सा क्षेत्रमा गुणस्तरीय तालिम व्यवस्थापनलाई उपेक्षा गरिएको ज्ञापनपत्रमा उल्लेख छ । कोभीड–१९ का कारण जिल्लाहरुमा सघन उपचार कक्षको स्थापना गर्ने तर आइसियु र भेन्टिलेटर चलाउन सक्ने तालिम प्राप्त जनशक्तिको अभाव हुनु यसैको प्रमुख कारण भएको अध्यक्ष खड्काले बताए ।

‘एउटै सेवा भित्र कसैलाई काखा र कसैलाई पाखाको अन्यायपूर्ण व्यवहार भएको हुँदा कर्मचारीको मनोबल कमजोर बनाई पलायन हुन बाध्य पारिएको छ’ खड्काले भने, ‘सातै प्रदेश सरकारलाई हस्तान्तरण गरेको संगठन संरचना र दरबन्दीअनुसार सहित प्रदेश स्वास्थ्य तालिम केन्द्र पुनर्स्थापना गर्ने कार्य तत्काल प्रारम्भ गर्न हाम्रो माग छ ।’

तपाईको प्रतिक्रिया