गठबन्धनभित्र छलफल गरेर मात्रै अघि बढ्ने कर्णालीमा गठबन्धनको निर्णय !

सुर्खेत। कर्णाली प्रदेशमा मंगलबार सत्तारुढ गठबन्धन दलको संयुक्त बैठक बसेको छ। यसअघि दलका नेताहरुको उपस्थितिमा बैठक बस्दै आएपनि सांसदहरुको सहभागितमा बैठक बस्न सकिरहेको थिएन्। मंगलबार नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, नेपाली काँग्रेसका शीर्षस्त नेतासहित सांसदहरुको उपस्थितिमा पहिलो पटक संयुक्त बैठक बसेको हो।

जीवनबहादुर शाही मुख्यमन्त्री बनेपछि संयुक्त रुपमा बैठक बस्न सकेको थिएन्।मंगलबारको बैठकमा जीवनबहादुर शाहीको नौ महिने कार्यकालको बारेमा गठबन्धनभित्रको समीक्षा भएको थियो। जसमा गठबन्धनभित्र एक आसपमा छलफल र बहसको सौहार्दपुर्ण वातावरण नबन्द अविश्वास र आशंका उब्जिने गरेको निष्कर्ष निकालिएको नेताहरुको भनाई छ।

आजको बैठकबाट आगामी दिनमा सरकार, संसदीय, समिति र सदनका विषयमा कुनैपनि कार्य गर्दा पहिला गठबन्धनभित्र छलफल गरेर मात्रै अघि बढ्नुपर्ने निर्णय भएको छ। गठबन्धनभित्रका दलहरुको सहमति गरेर विश्वासको आधारमा रहेर काम गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिइन्।

उनका अनुसार यसअघि छलफल र सहमति बेगर निर्णय र गतिविधि भएकाले गठबन्धनभित्र अविश्वासको वातावरण सिर्जना भएको भयो,’ उनले भनिन, ‘जसले गर्दा केही कमजोरी समेत रहेको बैठकमा निष्कर्ष निकालिएको थियो। आगमी दिनमा गठबन्धनभित्र आशंका जन्माउने खालको वातावरण सिर्जना नगर्नका लागि नियमित गठबन्धनको बैठक बस्ने र छलफल गरिने छ।’

गत मंगलबार नेकपा माओवादीले विभिन्न माग राख्दै संसद बहिस्कार गरेको विषयमा पनि आजको बैठकमा छलफल भएको थियो। माओवादीले संसद अबरुद्ध गर्नुपर्ने वातावरण पनि गठबन्धनभित्रको अविश्वासकै जड रहेको दलका नेताहरुको बुझाई थियो।

मुख्यमन्त्री जीवनबहादुर शाहीले संसद बहिस्कारको विषयमा छलफल गरेर जाने सहमति भइसकेकाले स्वभाविक रुपमा लिइएको बताएका थिए। मुख्यमन्त्री शाहीको भनाईलाई उदृत गर्दै काँग्रेस संसदीय दलका सचेतक अमृता शाहीले भनिन, ‘यसअघि संवाद, छलफल नहुँदा गठबन्धनभित्र दुरी बढ्यो। जसका कारण संसद बहिस्कार गर्नुपर्ने परिस्थिति आयो। दुरी बढेकाले गठबन्धनभित्र आशंकाको वातावरण बन्यो। अब त्यस्तो हुन नदिनेगरी एकबद्ध रुपमा अघि बढ्नुपर्छ।’

शाहीले मंगलबारको जस्तै बैठक बस्दै गएको खण्डमा बाहिर पनि सकरात्मक सन्देश जाने अपेक्षा गरिएको बताइन्। साथै मुख्यमन्त्री शाहीले माओवादीले उठाएको विषयहरुअ आफु सकरात्मक रहेको बताएका थिए। यदि छलफल र बहसको माध्यमबाट अघि बढेको भए यस्ता खालका कुराहरु संसदसम्म नपुग्ने उनको भनाई थियो।

एकीकृत समाजवादी संसदीय दलका नेता एवं भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीले आगामी दिनमा गठबन्धनको बैठकलाई नियमित सञ्चालन गर्नुपर्ने कुरामा सहमति भएको बताए। उनले भने,‘ माओवादीले उठाएका विद्येयकहरुमा केही कमजोरी भएको खण्डमा सच्याएर अघि बढ्ने र जनताको सवालसँग जोडिएका विषयहरु समिति र सदनबाट पारित गर्ने निर्णय भएको उनले बताए। यदी गठबन्धभित्रका नेताहरमा केही कुरामा असन्तुष्टि पैदा भएको खण्डमा गठबन्धनभित्रै बसेर छलफल गरेर मात्रै अघि बढ्ने निर्णय भएको छ,’ उनले भने।

तपाईको प्रतिक्रिया