गोठालाले यसरी पत्ता लगाए जुम्लाको गुठीचौरमा आकाशे ताल

जुम्ला। जुम्लाको गुठीचौर गाउँपालिका–१ मा हालै चौँरी गोठालाहरुले आकाशे ताल पत्ता लगाएका छन्। वडा नं १ मणिसाँघुबाट डेढ दिनको दूरी हिँडेर पुगिने ठाउँमा चार हजार ७०० मिटरको उचाइमा उक्त आकाशे ताल गोठालाले पत्ता लगाएका हुन्।

सात वर्षअघि चौँरीपालक गोठालाहरूले नै चार हजार ३०० मिटरको उचाइमा हिउल्सा ताल र चार हजार मिटर उचाइमा रहेको दूध कुण्डली तालसमेत पत्ता लगाएका थिए।

ती सबै तालको केही दिनअघि वडाध्यक्ष अर्जुनकुमार महतारासहितको टोली अवलोकन गरेर फर्केको छ। मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको उक्त आकाशे तालमा पहिलोपटक वडाध्यक्षको टोली पुगेको हो। वडा अध्यक्षले भने, ‘चौँरी गोठाला मुस्किलले त्यहाँ पुगेका रहेछन् चौँरी हराउँदा खोज्दै जाने क्रममा ताल भेटिएको रहेछ।’

स्थानीय साङ्गे गुरुङले चौँरी खोज्दै जाने क्रममा गोठाला तालमा पुगेकाबताए। गुरुङकाअनुसार तिब्बती भाषामा आकाशे ताललाई म्हाङ्ग्वो युञ्जो भन्ने गरिन्छ। आकाश जस्तो रङ भएकाले त्यसलाई आकाशे ताल भनिएको उनको भनाइ रहेको छ।

कर्णालीको जुम्ला प्राकृतिकरूपले पर्यटनको अत्यन्तै सम्भावनायुक्त ठाउँ मानिन्छ। जुम्ला जिल्ला धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र अध्ययन, अनुसन्धान र पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिन्छन् ।

तपाईको प्रतिक्रिया