जब परीक्षार्थीले उत्तरपुस्तिकामा नम्बर लेखेर फोन गर्न भनेपछि…

सुर्खेत। प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले लिएको चौथो तहको परीक्षमा फोन नम्बर भेटिएको छ । कार्यालयले साउन ७ गते सञ्चालन गरेको लिखित परीक्षाको उत्तरपुस्तिकाको उत्तरखण्डमा परीक्षार्थीकाे मोबाइल नम्बर भेटिएको हो।

विज्ञापन नं ५८४/५८८–०७८/७९ स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायकस्तर चौथो तह, अहेव पदको प्रथम चरण लिखित परीक्षाको उत्तरपुस्तिकाको उत्तरखण्डमा आफ्नो मोबाइल नम्बर भेटिएको कार्यालयले जनाएको छ।

उत्तरपुस्तिकाको उत्तरखण्डमा आफ्नो मोबाइल नम्बर लेख्ने परीक्षार्थी सिद्धकुमाख गाउँपालिका–२ सल्यानका नविनकुमार रेउले रहेका छन्।

लोक सेवाका अनुसार उनको मास्टर आईडि १४०५७ र रोल नं ४४६६ रहेको छ। रेउलेले वस्तुगत र विषयगत उत्तरपुस्तिकाको उत्तरखण्डमा आफ्नो मोबाइल नम्बर लेखेर फोन गर्न अनुरोध गरेको भेटिएको हो।

उक्त नम्बर भेटिएपछि रेउलेलाई प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिम कसूर गरेको देखिएको र प्रदेश लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७८ को दफा ३६ को उपदफा (२) को खण्ड (ख) बमोजिम लिखित परीक्षा रद्द भएको आयोगले जनाएको छ।

उक्त ऐनअनुसार आयोगबाट आगामी २ वर्षसम्म हुने पदपूर्ति सम्बन्धी सबै विज्ञापनहरुमा उम्मेदवार हुन नपाउने गरी रोक लगाएको छ। आयोगको असार १६ गते बसेको बैठकले रेउलेलाई उम्मेदवार हुन नपाउने गरी रोक निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया