स्याउ उत्पादन घटेपछि जुम्ली किसान चिन्तित

जुम्ला । यस वर्ष जुम्लामा स्याउ उत्पादन घटेपछि किसान चिन्तित भएका छन् । गत वर्षको तुलनामा यस वर्ष आधा कम स्याउ उत्पादन हुने अनुमान गरिएको छ। दाना लाग्ने समयमा तुषारो परी नोक्सानी गरेकाले उत्पादन ५० प्रतिशत कम हुने कृषि विज्ञहरुको अनुमान छ।

चन्दननाथ नगरपालिका–१ का लक्ष्मी भण्डारी स्याउ उत्पादन कम भएसँगै आम्दानी पनि घट्ने बताउँछन्। ‘गत वर्ष बगैंचामा स्याउ टिप्न र बेच्न भ्याइनभ्याइ भएको थियो,’ उनले भने, ‘यो वर्ष स्याउ नफलेपछि आम्दानी पनि घटेको छ।’

यस वर्षको असिना, खडेरी र कालो तुषारोले स्याउ सखाप पारेको किसानहरु बताउँछन्। अहिले प्रतिकिलो ४० देखि ५० रुपैयाँमा स्याउ बिक्री भइरहेको किसान नर रावत बताउँछन्। तर, लकडाउनका कारण देशका मुख्य सहरमा पठाउन समस्या भएको उनको भनाइ छ।

यस्तै, कोरोना भाइरसले गर्दा यो वर्ष जुम्ला सदरमुकाम खलङ्गामा डोकोमा स्याउ बेच्न आउने किसानको घुइँचो पनि देखिएको छैन। जुम्लाको कुल खेतीयोग्य ३९ हजार ४३५ हेक्टर जग्गामध्ये तीन हजार ७०० हेक्टरमा स्याउ खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ ।

जुम्लामा गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको स्याउ सुपोरजुन कार्यालयले जनाएको छ। कृषि विकास कार्यालयका अनुसार जुम्लामा १६ हजार घरपरिवारले स्याउ खेती गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया